सहकारी ठगी आराेपित कांग्रेस उपसभापति गुरूङसँग सिआइबीले लियाे ४ घण्टा बयान
ललितपुरको मितेरी सहकारी ठगीका आरोपित कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार साढे ४ घण्टा सोधपुछ गरेको छ ।
पूर्वमन्त्री गुरुङले सहकारीबाट लिएको ऋण र भ्रष्टाचारी ठहर भएका व्यापारी मीनबहादुर गुरुङसँग भएको ‘शंकास्पद कारोबार’का सम्बन्धमा सीआईबीले घण्टौं सोधपुछ गरेको हो ।
‘मितेरी सहकारी ठगीको अनुसन्धानकै क्रममा धनराज गुरुङसँग सोधपुछ बयान गरिएको हो, अनुसन्धान जारी रहेकाले यसमा क–कसको के संलग्नता र भूमिका छ भन्ने टुंगिइसकेको छैन,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले कान्तिपुरसँग भने । सत्तारूढ कांग्रेसका सांसदसमेत रहेका पूर्वमन्त्री गुरुङसँग यसअघि कात्तिक अन्तिम साता पनि सीआईबीले बयानी कागज गरेको थियो ।
सहकारी ठगीकै अनुसन्धानका क्रममा नेता गुरुङ र भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबीच २०८१ वैशाखमा ‘संदिग्ध आर्थिक कारोबार’ भएको खुलेको थियो । त्यसपछि नेता गुरुङमाथि शंकास्पद लेनदेन र सहकारी ठगी दुवैमा सीआईबीले अनुसन्धान जारी राखेको खबर कान्तिपुरमा छ ।