माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सम्पन्न, ६ महिना अभियान, १ वर्षपछि महाधिवेशन

मूलखबर संवाददाता
काठमाडौं, २३ पुस

नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित गरि बैठक सम्पन्न भएको हाे ।

बैठकले ६ महिना जागरण अभियान चलाएर १ वर्षपछि नियमित महाधिवेशन गर्ने निर्णय गरेकाे छ ।

बैठकले आगामी फागुन १ गतेदेखी जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष प्रचण्डले सहभागीहरूकाे सुझावसमेत समेटेर दस्तावेजलाई पुर्णरूप दिने बताउँदै निर्णय सुनाएका थिए ।

बैठककाे निर्णय अनुसार माओवादीले फागुन महिनाभर तराईको हुलाकी राजमार्ग र पुर्वपश्चिम राजमार्गमा अभियान सञ्चालन गर्ने र बैसाख १ गतेदेखि मध्यपहाडी लाेकमार्ग केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।

प्रचण्डले बैठक एकता र विजयकाे बैठक भएकाे बताएका छन् ।  उनलेे माघ १ गतेसम्म पदाधिकारी र सबै केन्द्रीय सदस्यकाे कार्यविभाजन गरिसक्ने बताउँदै प्रदेश इन्चार्ज र जिल्ला इन्चार्ज तथा विभागीय इन्चार्जहरूकाे हेरफेर हुन सक्ने जानकारी दिएका छन् ।

त्यसैगरी माओवादीले पुर्व माओवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नकाे लागि पार्टी एकता संवाद टीम बनाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी छ महिना भित्र सबै जवस माेर्चाकाे सम्मेलन गर्ने निर्णय पनि माओवादीले गरेको छ ।

त्यसैगरी उमेरहदका कारण विदा भएका विद्यार्थी नेताहरूकाे व्यवस्थापन बारे पनि उपयुक्त जिम्मेवारीसहितकाे व्यवस्थापन गरिने निर्णय गरेको छ ।

त्यसैगरी माओवादीले युवासँग माओवादी भन्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेकाे छ ।

माओवादीले युवा बैज्ञानिकहरूलाई समेटेर लैजाने र अन्तरक्रिया गर्ने कार्यक्रम पनि बनाएकाे छ ।

त्यसैगरी असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने तर प्यालेस्टाइनकाे पक्षमा खडा हुने तथा इजरायली अतिक्रमणको विराेधमा लाग्ने निर्णय पनि माओवादीले गरेको छ ।

माओवादीले गाेर्खा भुपु सैनिककाे पक्षमा दृढतासाथ उभिने पनि स्पष्ट पारेकाे छ ।

पुस २४ सम्म चल्ने भनिएकाे बैठक एक दिन अगाबै सकिएकाे हाे ।