सहरकारी ठगी प्रकरणः रविविरुद्ध सुरु भयो अर्को अनुसन्धान
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् । सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो । यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड ऋण लिएको खुलासा भएपछि उनले कतिपय सञ्चार माध्यममा सहकारीबाट ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै पानीमाथि चोखो हुने प्रयास समेत गरेका थिए। रवि लामिछानेकै नेतृत्वमा खोलिएको ग्यालेक्सी फोर के टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको हो।
पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।
सूर्यदर्शन ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिबी (गितेन्द्र राई) कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध बचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। उनको नाममा प्रहरील पक्राउ पुर्जी जारी गरेको छ।
सहकारीबाट गोरखा मिडियाले कानुन मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयरधनी समेत थिए।
“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो ।
रविले कम्पनीको कार्यक्रम उत्पादनमा व्यस्त भएकाले शेयर किन्दा कम्पनीले के-के गर्यो आफूलाई थाहा नभएको तर्क गरेका छन् भने शेयर बेच्दा सित्तैमा लिएको शेयर सित्तैमा दिन पनि लेनदेन भएको प्रमाण चाहिने भएकाले ल्याप्चेसहित कागज गरेको स्विकारेका छन्।
उनले जे स्विकारेका छन् त्यो कम्पनी ऐन २०६३ को दफा १६० को उपदफाहरूमा भएका प्रावधान अनुसार ५० हजार जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुनसक्छ।