गठबन्धन नगर्ने गगनको प्रस्ताव न्यूट्राइज गर्न देउवाको दौडधुप, बालुवाटारसम्म वार्ता

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ। महासमिति बैठक सुरु हुनुअघि कांग्रेसमा सांगठनिक प्रस्तावबारे निक्कै रस्साकस्सी चल्यो।

सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा करिब ५ घन्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेपछि भने देउवालाई समझदारीमा जाने निर्णय गरे।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउने प्रयास गरिरहेका देउवाले बैठकको उद्घाटनसत्रमै यसबारे धारणा राखेर आफ्नो असहमति देखाइसकेका छन्।

गोदावरी पुगेर महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्ने भएकाले अहिले नै निर्णय लिनु उचित नहुने जवाफ महामन्त्री थापालाई दिएका छन्। गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताएका देउवाले तत्कालीन परिस्थितिले गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा निर्धारण गर्ने बताए। तर, अहिले नै यसबारे निर्णय लिनु उचित नहुने उनको दाबी छ।

‘अहिले हामी गठबन्धनको अभ्यासमा छौं, अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए,’ महासमिति बैठकको उद्घाटन समारोहमा राखेको लिखित मन्तव्यमा देउवाले भनेका छन्, ‘संविधान रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेन्डाको रूपमा लिएका छौं । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।’

भविष्यमा कम्युनिस्टसँग गठबन्धन नगर्ने कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय हो, तर देउवाले यो विषय सुन्न चाहेका छैनन् । ‘कांग्रेस कार्यकर्ताले सुन्न चाहेको विषय’ नबोलुन् भनेर उद्घाटन सत्रमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई मन्तव्य राख्न नै दिएनन् । २०८४ को चुनावी गठबन्धन अहिलै निषेध गर्दा केही महिनापछि आउन लागेको सत्तारोहणको अवसर धरापमा पर्न सक्नेमा देउवा चिन्तित छन् ।

८० प्रतिशत केन्द्रीय सदस्य र बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षका रहेको हलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिढ्याउने प्रस्ताव पारित गर्न दिने पक्षमा देउवा देखिँदैनन् । त्यसैले उनले बालुवाटार पुगेर यसबारे आश्वास्त तुल्याउने प्रयास गरिसकेका छन्।

सोमबार साँझको बैठकमा पनि सहमति जुट्न नसकेपछि सभापति देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बूढानीलकण्ठबाट बालुवाटार पुगेका थिए।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक चल्दै गर्दा उपसभापति पूर्णबहादुर खड्कासहित उनी बालुवाटार पुगेका थिए।

गठबन्धन गर्दा कांग्रेसले माओवादीलाई पटक पटक धोका भएको भनेर चिढिएका प्रचण्ड महामन्त्री गगन थापाको प्रतिवेदनलाई लिएर सशंकित भएको अवस्थामा देउवा बालुवाटार पुगेका हुन्।

कांग्रेस बैठक थाती राखेर बालुवाटार छिरेका देउवाले त्यहाँ प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन तलमाथि नहुने कुरामा आश्वस्त पारेको स्रोतले जनाएको छ।

गठबन्धनका नेताहरूले यसअघि पनि संकट परेका बेला भेट्ने गरेका थिए। यस पटक महासमिति बैठकमा दस्तावेजलाई लिएर कांग्रेसमा गम्भीर किचलो देखिँदा त्यसका बाछिटा गठबन्धनमा पनि पर्ने चिन्ता छ।