बालकुमारी घटनाबारे संसदमा प्रधानमन्त्रीको विशेष जवाफ

मूलखबर संवाददाता
काठमाडौं, ६ फागुन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे प्रतिपक्षी दल र केही अन्य सांसदहरुले गलत जानकारीसहित विषय राखेकोले आफू गम्भीर भएको बताउनुभएको छ । उहाँले संसदमा सांसदसँग प्रश्नोत्तर कार्यक्रमको अगाडि विशेष समय लिएर बोल्दै सो बताउनुभएको हो । उहाँले छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी दोषीलाई आवश्यक कारबाही गरिने प्रतिवद्धता व्यत्तः गर्नुभएको छ

आइतबार प्रतिनीधि सभाको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताउनुभएको हो । उहाँले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज म बुझ्दैछु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । म हेर्दैछु। आजै मन्त्रिपरिषद् बैठक छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ ।’

उहाँले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताउनुभयो । परिवारका एक(एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उहाँको भनाइ छ ।