फेरियो विश्वका अर्थतन्त्रको रोल नम्बर, जापानले कसरी गुमायो तेस्रो नम्बरको ताज
जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले यहाँको आर्थिक मन्दीलाई संकेत गरेको छ ।
कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याकले देखाएको छ ।
यसैबीच, जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ किनभने सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जापानको अर्थव्यवस्थाको आकारभन्दा जापानको अर्थव्यवस्था कम भएको छ । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ ।
जापानमा उत्पादित वस्तु तथा सेवाको कूल मूल्य वास्तविक कुल गार्हस्थ उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशतले घटेको सरकारको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
क्याबिनेट कार्यालयका अनुसार दोस्रो त्रैमासिकको तुलनामा सन् २०२३ को तेस्रो त्रैमासिकमा ०.८ प्रतिशतले कमी आएको हो ।
जापानको कूल गार्हस्थ उत्पादनको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग अक्टोबर–डिसेम्बर अवधिमा ०.२ प्रतिशतले घटेको छ, जुन लगातार नौ महिनाको गिरावट हो । व्यावसायिक लगानी पनि ०.१ प्रतिशतले खुम्चिएको छ । कूल गार्हस्थ्य उत्पादनमा नकारात्मक प्रभाव पार्ने आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.६ प्रतिशतले बढेको छ ।
किन घट्यो जापानको बरीयता
अर्थविद्हरुले गत वर्ष जापानको कुल ग्रार्हस्थ्य उत्पादनमा १ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेका थिए । गत अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफले) जर्मनीले जापानलाई उछिन्ने प्रक्षेपण गरेको थियो । राष्ट्रहरुले आफ्नो अन्तिम वित्तीय स्थिति सार्वजनिक गरेपछिमात्रै आईएमएफले प्रक्षेपण गर्छ । आईएमएफले आर्थिक तथ्यांकमा आधारित तुलना सन् १९८० देखि प्रकाशित गर्न थालेको हो ।
अर्थविद् निल न्यूम्यानले बीबीसीसँगको कुराकानीमा जापानको पछिल्लो अर्थतन्त्र ४.२ खर्ब डलर रहँदा जर्मनीको ४.४ खर्ब डलरको हुने प्रक्षेपण सन् २०२३ मा गरेका थिए ।
अमेरिकी डलरको तुलनामा जापानी मुद्रा यान कमजोर हुँदा यस्तो परिस्थिति उत्पन्न भएको न्युमानको भनाइ छ । यानको अवस्था सुध्रिएमा जापानले पुन आफ्नो खोसिएको ताज फिर्ता ल्याउन सक्ने उनले बताए ।
फेब्रुअरी पहिलो साता टोक्योमा भएको पत्रकार सम्मेलनमा आईएमएफकी उपप्रमुख गीता गोपीनाथले अमेरिकी डलरको तुलना गर्दा यान ९ प्रतिशत बढीले कमजोर हुँदा जापानको अर्थतन्त्र खस्किने बताएकी थिइन् ।
तर यान कमजोर हुँदा जापानको पुँजीबजार भने ह्वात्तै बढेको थियो । जापानको पुँजीबजार निक्क २२५ गत साता ३८००० अंकमा पुगेको थियो । सन् १९९० पछि यत्तिको स्थानमा पुगेको यो पहिलोपटक थियो ।
त्यसअघि २९ डिसेम्बर १९८९ मा पुँजीबजार ३८ हजार ९१५.१५ विन्दुमा पुगेको थियो । कुल ग्रार्हस्थ्य उत्पादनमा गिरावट आएसँगै केन्द्रीय बैंकले ऋणको ब्याजदर हेरफेर गर्नसक्ने सम्भावना छ । तर यस कदमप्रति केन्द्रीय बैंकले ढिलाइ गरिरहेको छ ।
खर्चलाइ बढावा दिने उद्देश्यले केन्द्रीय बैंकले सन् २०१६ मा ब्याजदर नकारात्मक दरमा राखेको थियो । यसले गर्दा यानप्रति विश्वव्यापी लगानीकर्ताहरु कम आकर्षित भए र यसले मुद्रालाई कमजोर बनायो ।
यता बेलायत पनि मन्दीतर्फ अग्रसर भएको बीबीसीले जनाएको छ । गत वर्षको अन्तिम तीन महिनाको प्रतिवेदनले बेलायत पनि मन्दीतर्फ अग्रसर भएको देखाएको हो । कुल ग्रार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतले कमी आएको तथ्यांक रहेको छ ।
सन् २०२३ मा अर्थतन्त्र सुधार आफ्नो पहिलो प्राथामिकता रहेको बताउने प्रधानमन्त्री ऋषि सुनकका लागि यो तथ्यांक निके चुनौतीपूर्ण रहेको बीबीसीले उल्लेख गरेको छ । चान्सलर जेर्मी हन्ट नयाँ बजेट सार्वजनिक गर्नबाट तीन साता पर रहेको अवस्थामा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
मन्दीबाट उम्किन कति सहज ? :
एलबिबिडब्लू बैंकका विश्लेषक येन्स ओलिभरका अनुसार विकासको तथ्यांक ओरालो लाग्नु कुनै भयानक कुरा होइन । किनकि, आर्थिक सूचकांक निरन्तर कमजोर हुँदै गइरहेका थिए । ‘सुरुवाती संकेतले यो वर्षको दोस्रो त्रैमाससम्म पनि अवस्था यस्तै कमजोर हुनेछ,’ ओलिभर भन्छन् ।
औद्योगिक मागले नै उद्योगको उत्पादन तय गर्छ । तर, यही उत्पादन मार्च महिनामा निकै न्यून भयो । त्यसो त जर्मनी लामो समयदेखि रुसी ऊर्जामा निर्भर थियो । तर, गत वर्षदेखि जारी रुस–युक्रेन युद्धले ऊर्जा संकट बढायो । ग्यास आपूर्ति लगातार घट्यो र बाध्य भएर अन्य स्रोततिर लाग्नुप¥यो । तर, यो काम रातारात सम्भव छैन । जाडोयाममा घरलाई न्यायो बनाइराख्नुपर्ने भएकाले जर्मनीमा ऊर्जा खपत बढी हुन्छ । युक्रेनमाथिको रुसी हमलापछि विश्लेषकहरूले जर्मनीमा भयानक मन्दी आउने आकलन गरेका थिए । मन्दी नै आए पनि आकलन गरिएअनुसारको खराब स्थिति भने अहिले छैन । आइएनजी बैंकका अर्थशास्त्री कास्र्टेन बे्रस्कीले जाडो कम हुनु, प्रमुख बजार चीन अगाडि आउनु र कोरोना महामारीपछि सप्लाई चेनमा सुस्तता आउनुले पनि अर्थतन्त्रलाई मन्दीमा आउनबाट रोक्न सकेनन् । ‘महँगी रोक्न युरोपियन केन्द्रीय बैंकको ब्याजदर बढाउने फैसलातिर लक्षित गर्दै बे्रस्की भन्छन्, ‘क्रयशक्तिमा कमी, औद्योगिक माग घट्नु र मौद्रिक नीति कसिलो बनाउनुले अर्थतन्त्रलाई अझै केही समय पछाडि धकेल्छ ।’