आजको माैसम : पुर्व उत्तरतिर अत्यधिक वर्षाकाे सम्भावना

मूलखबर संवाददाता
काठमाडौं, २१ जेठ

आज जेठ २१ गते । अब वर्षा याम शुरू भइसकेको छ । नेपालमा पानी पार्ने वायु अहिले पुर्वी भेगकाे आकाशमा छ ।  याे समाचार तयार गर्दासम्म जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी,सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु आसपासका ठाउँहरूमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ । उक्त पानी पार्ने प्रणाली उत्तर-पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन  माैसम पुर्वानुमान विभागले अपिल गरेको छ ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा भएको छ। सप्तरीको कल्याणपुरमा  १७.२ मिलिमिटर, रूपनी बजारमा १७ मिलिमिटर, सिरहाको लहानमा १२.४ मिलिमिटर, मोरङको विराटनगरमा १०.६ मिलिमीटर, धनकुटाको पाख्रिबासमा ५ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका ठाउँहरुमा छिटपुट वर्षा भएको छ। काठमाडौंमा पनि गएराति वर्षा भएको थियो। अहिले मौसम बदलीको अवस्था छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।