पुर्व प्रधानमन्त्री माधव नेपालविरूद्व अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता, सांसद पद निलम्बन

मूलखबर संवाददाता
काठमाडौं, २२ जेठ

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल विरूद्व भ्रष्टाचार अभियाेगमा विशेष अदालतमा मुद्दा दायर भएको  छ ।

पतन्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हाे ।

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै पुर्व प्रधानमन्त्री समेत रहेका सांसद माधव नेपालकाे सांसद पद पनि निलम्बनमा परेको छ ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले आज मुद्दा दर्ता गरेको हो ।

पुर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्वा दर्ता भएको याे पहिलोपटक हाे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालमाथी मुद्दा दायर राजनीतिक पुर्वाग्रह भएको पार्टीका नेताले जनाएका छन् ।

आयोगले तत्कालीन कानुन मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेको हकमा उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार सचिव छविराज पन्त लगायत छन् ।

यसैगरी तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन शाखा अधिकृत सिताराम पोखरेल, तत्कालीन नायब सुब्बा बुद्धिबहादुर कार्की र तत्कालीन मालपोत अधिकृत प्रेमबहादुर देशार, केदारनाथ भट्टराई, खरिदार मोहनराम शर्मा, मालपोत अधिकृत जनार्दन गुरागाईं, बेदप्रसाद अर्याल, शिवहरि शर्मा सुवेदी, नायब सुब्बा विनोद कोइराला लगायत छन् ।