रविमाथि नयाँ चरणको छानविन सुरु, यसअघि स्वीकारेको कुरा नै बन्नसक्छ प्रमाण

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो ।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ । चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ । 

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । लामिछाने राईका व्यापारिक साझेदार हुन् । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ ।

यसकारण पर्न सक्छन् कानूनी फन्दामा
पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड ऋण लिएको खुलासा भएपछि उनले कतिपय सञ्चार माध्यममा सहकारीबाट ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै पानीमाथि चोखो हुने प्रयास समेत गरेका थिए। रवि लामिछानेकै नेतृत्वमा खोलिएको ग्यालेक्सी फोर के टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको हो।

पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।

सूर्यदर्शन ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिबी (गितेन्द्र राई) कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध बचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। उनको नाममा प्रहरील पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीबाट गोरखा मिडियाले कानुन मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयरधनी समेत थिए।

“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो ।

रविले कम्पनीको कार्यक्रम उत्पादनमा व्यस्त भएकाले शेयर किन्दा कम्पनीले के-के गर्यो आफूलाई थाहा नभएको तर्क गरेका छन् भने शेयर बेच्दा सित्तैमा लिएको शेयर सित्तैमा दिन पनि लेनदेन भएको प्रमाण चाहिने भएकाले ल्याप्चेसहित कागज गरेको स्विकारेका छन्।

उनले जे स्विकारेका छन् त्यो कम्पनी ऐन २०६३ को दफा १६० को उपदफाहरूमा भएका प्रावधान अनुसार ५० हजार जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुनसक्छ।

गोर्खा मिडियाले कानुन विपरीत विभिन्न सहकारीबाट ऋण लिएको विवरणहरू सार्वजनिक भएका छन्। ऐनको दफा १६० को उपदफा (ज) अनुसार ऐन बमोजिमको विवरण नदिने वा झुट्टा विवरण दिने शेयर धनीलाई सो सजाय हुनसक्ने प्रावधान छ।