नाम फेर्नेदेखि गठबन्धन बदल्नेसम्मका सुझाव, माओवादीको अबको रणनीति के !

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्ने क्रम जारी छ । विभिन्न २० समूहमध्ये बुधधबार १३ समूहबाट सुझाव प्रस्तुत भएको माओवादीले जनाएको छ ।

सुझाव पेश गर्ने क्रममा कञ्चन खनालले महाधिवेशन प्रतिनिधि पार्टी समिति सदस्यबाट निर्वाचित भएर आउनुपर्ने र सहिद, वेबत्ता र घाइतेका सदस्याका प्रतिनिधिलाई महाधिवेशनमा परिवेक्षकका रुपमा राख्नुपर्ने सुझाव दिएका छन् । उनले पार्टीलाई छरितो एवं जनमैत्री बनाएर सबै क्षेत्र र समूदायलाई समेटेर लैजानुपर्ने बताए।

सरल सहयात्रीले प्रस्तावनालाई छरितो बनाउनुपर्ने, पार्टी र निर्वाचन चिह्न फेर्न सुझाव आएको उल्लेख गर्दै सङ्गठनात्मक सिद्धान्तलाई छोटो बनाउनुपर्ने र पार्टी सदस्य दिँदा सरल बनाउनुपर्ने बताए। उनले निर्वाचन, लेखा र अनुशासनलाई थप अधिकार दिनुपर्ने र महाधिवेशनको मिति स्पष्टरुपमा तोकिनुपर्ने सुझाव रहेको उल्लेख गरे।

युवराज चौलागाईले प्रत्यक्ष निर्वाचनमा पार्टी समितिलाई लैजानुपर्ने सुझाव पेश गर्दै पार्टीको स्थायी समिति सदस्य विधानमा उल्लेख गर्न नपर्ने बताए । उनले पार्टीभित्र मात्र नभई सबै तहका सार्वजनिक पदको उम्मेदवार पार्टी सदस्यबाट तय गर्नुपर्ने सुझाव पेश गरेका छन्।

गठबन्धन बदल्ने सुझाव पनि
सम्मेलनमा ७ बुँदे प्रस्ताव पेश गर्दै पोलिटब्यूरो सदस्य तथा केन्द्रीय प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले फराकिलो कम्युनिष्ट अन्तर्राष्ट्रिय बनाउनका लागि पार्टी अध्यक्षले तत्काल प्रधानमन्त्री त्यागेर अरुलाई अघि सार्दै एक्काइसौं शताव्दीको समाजवादी कार्यदिशा निर्माणको पहल गर्न सुझाएका हुन् ।

उनले भने, ‘समाजवादमा जाने शर्तमा, समाजवादी कार्यदिशा निर्माण गरेर एमालेसहितका सबै वामपन्थी शक्ति र व्यक्तिहरुसँग एकताका लागि पहल बढाऔं । अधिकतम लचिलो बनेर माओवादी पार्टी र आन्दोलन पुनर्गठनका लागि हात अगाडि बढाऔं ।’

उनले कांग्रेससँगको गठबन्धन असहज रहेको भनेर प्रधानमन्त्रीले नै भनिसकेको अवस्थामा अब वाममोर्चा निर्माण गरेर हिजोको जस्तो होइन सिद्धान्त र वस्तुनिष्ठ पार्टी एकताको नेतृत्व प्रचण्डले गर्नुपर्ने बताएका छन् । प्रचण्डले कसैले आफूलाई तर्क र तथ्यसहित कन्भिन्स गरेमा अहिलेको गठबन्धन छाडेर नयाँ ढंगले जाने बताएका थिए ।

नाम फेर्ने बहस

माओवादीमा पार्टीको चुनाव चिन्ह ‘गोलाकारभित्रको हँसिया हथौडा’ फेर्नुपर्नाका कारणबारे पनि विचित्रका सुझाव आएका छन् । विधान मस्यौदामाथि धारणा राख्ने क्रममा माओवादीका प्रतिनिधिहरूले पार्टीको चुनाव चिन्ह अप्ठ्यारो भएको भन्दै फेर्न प्रस्ताव गरेका हुन् ।

‘चुनाव जित्नका लागि गठबन्धन गरिरहनुपर्ने हुन्छ । यस्तोमा लोकतन्त्र पक्षधरले कम्युनिस्ट, त्यसमा पनि माओवादीलाई भोट दिएनन् । कतिपयबाट गठबन्धन संस्कृति रहिरहने हो भने चुनाव चिन्ह पनि बदलौं भन्ने कुरा आएका छन्,’ ती प्रतिनिधिले मूलखबरलाई भने, ‘गोलाकारभित्रको हँसिया हथौडामा भोट दिनुस् भन्दा लामो र गाह्रो भयो । यसैले एक शब्दको चुनाव चिन्ह राख्नुपर्छ भन्ने मत देखिन्छ ।’ समूह नेता सरल सहयात्री, हरिराज अधिकारी र परशुराम रम्तेलले समूहमा पार्टीको चुनाव चिन्ह फेर्नुपर्ने प्रस्ताव आएको उल्लेख गरेका थिए ।

पछिल्लो समय माओवादीलाई वामपन्थीइतर दलसँग पनि मिलेर चुनाव लड्नुपर्ने बाध्यता छ । यस्तोमा गैरकम्युनिस्टले कम्युनिस्टलाई भोट नदिने गरेको भन्दै माओवादीभित्र पार्टीको नाम पनि फेर्न प्रस्ताव आएको छ । शहरी मतदाताले माओवादीलाई नपत्याएकाले धेरैले ‘माओवादी’ शब्द नै हटाउनुपर्ने सुझाव आएको एक नेताले बताए।

‘माओवादी नै हाम्रो पहिचान हो, यो नाम कतै न कतै राख्नुपर्छ भन्ने मत पनि छन् । तर नेकपा (माओवादी केन्द्र) हटाएर ‘नेकपा समाजवादी केन्द्र’ नाम राख्नुपर्नेमा धेरैको जोड छ,’ ती नेताले भने, ‘कम्युनिस्ट पार्टी वा समाजवादी फुर्को जोडेर नयाँ नाम राखौं भन्ने हाम्रो सुझाव छ ।’

तर बुधबार धारणा राखेका १३ समूहमध्ये अधिकांश नाम फेर्न नहुने पक्षमा उभिएका छन्। त्यसबाहेक बहुमत पदाधिकारी समेत माओवादी केन्द्र नै राख्नुपर्ने पक्षमा उभिएका हुन्।

उपमहासचिव गिरिराजमणि पोखरेलले पनि पार्टीको नाम फेरिन नसक्ने बताए।

‘पार्टीको नाम बदलिँदैन,’ उनले भने, ‘नाम फेर्ने निर्णय बृहत् पार्टी एकता वा विशेष महाधिवेशनबाट मात्र हुन्छ। नाम फेरिँदा पनि नेकपा छुट्दैन, अरु कुरा सहमतिको आधारमा जान्छ।’

तल्लो तहबाट माओवादी, माओवादी केन्द्र, नेकपा समाजवादी पार्टी लगायतका नाम राख्न सुझाव पठाएका छन्।

तर, सबै कमिटीमा प्रत्यक्ष निर्वाचन प्रणालीलाई भने माओवादीले अवलम्बन गर्ने भएको छ। माओवादीले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणाली लागू गराएर विधान बनाउने सचिव दीनानाथ शर्माले जानकारी दिए।

प्रस्तावित विधानमाथि छलफल गर्न बनाइएको २० समूहमध्ये बाँकी ७ वटाले बिहीबार सुझाव दिएपछि यसबारे औपचारिक निर्णय हुने शर्माले बताए।