जनयुद्ध दिवसका दिन माओवादी विधान सम्मेलनबाट प्रचण्डले दिएका तीन सन्देश

मूलखबर संवाददाता
काठमाडौं

नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ। पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन्।

पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल गरिने बताए । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन्। बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्नुपर्नेछ । तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी घटकहरूलाई ३ महत्त्वपूर्ण सन्देश दिए ।

माओवादी मिलौँ
प्रचण्डले जनयुद्धमा योगदान दिने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन्। उनले परिवर्तनका लागि बलिदान गर्ने योद्धालाई आरोपित गर्ने अधिकार कसैसँग पनि नभएको उल्लेख गरे।

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, ‘एकै मोर्चा र केन्द्रमा एकताबद्ध गर्न आग्रह गर्दछु। ढिलो नगरौँ, समीक्षा गरौँ, नयाँ लहर सिर्जना गरौँ। माओवादी युद्धका सहयात्रीहरु आउनुहोस्। यो मोर्चालाई एकताबद्ध गरौँ।’ सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको भन्दै उनले संक्ल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गरे। जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको तथा सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे।

मलाई नेतृत्व गर्न पुग्यो
प्रचण्डले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको पनि बताएका छन् । पूर्वमाओवादीलाई फेरि एकताबद्ध हुन आह्वान गरेका अध्यक्ष प्रचण्डले नेतृत्वमा जानका लागि पनि खुला रहेको सन्देश दिन यस्तो बताएका हुन् ।

“म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु । आउनुस् बसौँ, समीक्षा गरौँ । खुल्ला मनले आत्मालोचना गरौँ,” अध्यक्ष प्रचण्डले भने, “माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो । अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।”

जनयुद्धलाई गौरवको विषय बनाउनुस्

प्रचण्डले परिवर्तनको संवाहक बनेको ‘जनयुद्ध’ दिवसलाई चौतर्फीरूपमा होच्याउने प्रयास भएको भन्दै प्रतिवादको आह्वान गरे ।

“…महान उपलब्धिलाई अपमानित गर्ने छुट कसैलाई पनि छैन । तर, त्यो दुस्साहस भएको हामीले देखिराखेका छौँ । त्यसकारण हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दुस्साहस गर्नेकाविरुद्ध प्रतिवाद गर्नुछ । उनीहरूलाई त्यो छुट छैन । सचेतरूपले सामाजिक रूपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरूलाई अपमान गर्ने तिनीहरूलाई कुनै अधिकार छैन,” प्रचण्डले भने ।

माओवादी नेतृत्वको सरकार हुँदा क्यालेन्डरमै ‘जनयुद्ध’ दिवस राख्दै सार्वजनिक बिदा दिने निर्णय लिएको थियो । तर, सर्वोच्च अदालतबाट बदर भएपछि माओवादी निराश बनेको छ । केही दिनअघि मात्रै आएको फैसलाको पूर्णपाठले ‘जनयुद्ध’ दिवसलाई असंवैधानिक भन्दै निषेध गरेको छ ।

माओवादी केन्द्रको विधान सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको हो। तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागी छन्।

पार्टीलाई व्यवस्थितरुपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ। पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो। सो समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिव सुरेन्द्र कार्की र गणेश साह सदस्य थिए। समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो।

प्रस्तावित विधानमा गत माघ २६ र २७ गते पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो। गत भदौ १६ देखि पुस १७ गतेसम्म सञ्चालित पार्टी रुपान्तरण अभियानको समीक्षा गर्न आइतबार र सोमबार भएको केन्द्रीय समितिको बैठकमा विधान सम्मेलनको तयारीबारे पनि छलफल भएको थियो। छलफलमा सहभागी केन्द्रीय सदस्यले विधानको मस्यौदालाई संक्षिप्त र कार्यान्वयनयोग्य बनाइनुपर्ने तथा पार्टीको संरचनालाई चुस्त बनाइनुपर्नेमा जोड दिएका थिए।