माओवादी केन्द्रकाे बैठक सकियाे, अभियान सफल भएको निश्कर्ष, नयाँ अभियान गर्ने उद्घाेष

मूलखबर संवाददाता
काठमाडौं, २९ माघ

सत्तारूढ दल नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बैठक सकिएको छ । बैठककाे दाेश्राे दिन जारी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरेर बैठक समापन भएको हाे ।

आइतबारदेखि राष्ट्रिय सभा गृहमा जारी बैठकमा सम्वाेधन गर्दै प्रचण्डले चार महिने अभियान सफलताको साथ सम्पन्न भएको बताउनुभयो । उहाँले अभियािन सापेक्षित र अपेक्षित रूपमा अभियान सफल भएको बतनउँदै अभियानकाे निरन्तरता आवश्यक देखिएकाे बताउनुभयाे ।

उहाँले पार्टी अभियानमा पूरै खट्ने नेतालाई प्रशंसापत्र, आधा समय खट्नेलाई धन्यवादपत्र, अभियानमा बेलाबेला देखिएकालाई सचेतपत्र र कार्यक्षेत्रमा नखट्नेलाई कारबाहीपत्र दिन निर्देशन दिनुभयाे । उहाँले अभियानमा नखट्ने नेताहरुको सूची कारबाहीका लागि पठाउन निर्देशन समेत दिनुभएकाे एक सदस्यले बताए ।

केन्द्रीय समिति बैठकले हिमाल, पहाड, तराई र मधेश प्रदेशमा विशेष अभियान चलाउने निर्णय पनि गरेको छ । ‘तराई मधेशमा संगठन बलियो बनाउन अति आवश्यक छ’ प्रचण्डकाे भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य सुबाेध सापकोटाले भने-  ‘त्यस्तै हिमाल, पहाड र तराई केन्द्रित अभियान चलाइने छ ।’

प्रचण्डले जवस माेर्चाहरूका समितिका सम्मेलन र अधिवेशनहरू गर्नकाे लागि तयारीमा लाग्न निर्देशनसमेत दिनुभएको छ ।

प्रचण्डले संगठन निर्माणसहित विशेष महाधिवेशनमा जाने र विचार शंस्लेषण गरेर पार्टी लाई नयाँ ढंगकाे बनाउने र आगामी निर्वाचनमा माओवादी आफ्नो खुट्टामा उभिएर लड्ने तयारी गर्न निर्देशन दिनुभएको छ ।

माओवादीले भाेली फागुन १ गतेबाट विधान अधिवेशन गर्दैछ ।