
माओवादी विधान सम्मेलनको पूर्वसन्ध्याः प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई
नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिएको छ । शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइएको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारीकाे बैठकलाई दिएको हो ।
बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकमा नेताहरुले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए। उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताए।
उनले भने, ‘खासगरी केन्द्रीय समितिको बारेमा चाहिँ सबैको एकमतजस्तो भयो। १५१ जनाको प्रस्ताव भएको छ। त्यो ठीक छ भन्ने भयो। अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो, त्यो लक्ष्य पूरा भएको छ। बैठक निकै राम्रो भएको छ। भोलिबाट केन्द्रीय समिति छ। त्यसमा पार्टीको अभियानको समीक्षा हुन्छ। र विधान सम्मेलन १, २ र ३ मा हुन्छ। आएका सबै सुझावहरुलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि सुरु हुने विधान सम्मेलनमा प्रस्तुत गर्ने भन्ने निर्णय भएको छ।’
यस्तै माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने निर्णय पनि गरेकाे प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले आइतवारबाट शुरू हुने केन्द्रीय कमिटीमा अभियानमा बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रले यसअघि नै फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए ।
