सोनाम ल्होचारमा प्रचण्डको सन्देश- जातीय पहिचानको संरक्षण माओवादीबाट मात्र सम्भव

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।

सोनाम ल्होछारका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका पक्षधर उत्पीडित वर्ग, जाति र समुदायको सहयोग भने संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो । पहिचान पक्षहरु शक्तिशाली भए आन्दोलनका बाँकी कार्यभार पूरा हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा संघयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको दाबी गर्नुभयाे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको भन्दै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायत संघीय ऐनहरू पारित गर्न उच्च महत्व दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिमण्डल हेरफेर हुँदा वाग्मती प्रदेशका तामाङ समुदायबाट मन्त्री बनाइने बताउनुभयो ।

“…अब मन्त्रिमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता वागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दै छु,” उहाँले भन्नुभयो, “अब संघको मन्त्रिमण्डल पुनर्गठन त हुन्छै हुन्छ । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु । तपाईं लाखौं जनसमुदायको बीचमा मैले यो कमिटमेन्ट गरेको छु ।”

माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउने गर्दछन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदाप्रदान गरी यो पर्व मनाउने चलन छ ।

 समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ-आफ्नो परम्परा अनुसार मनाउँछन् ।

यसै अवसरमा काठमाडाैंको टुँडिखेल लागायत बौद्ध, स्वयम्भू क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।