माओवादी केन्द्रमा विधान सम्मेलनको तयारी, शुक्रबारदेखि लगातार बैठक
फागुनको पहिलो साता विधान अधिवेशनको तयारीमा रहेको माओवादीले नीति र नेतृत्वमा बहस गर्ने भन्दा पनि साङ्गठनिक संरचना तथा प्रक्रियाको विषयमा बहस केन्द्रित हुँदै छ।
पार्टीको विधान महाधिवेशनका लागि पार्टीको तल्लो कमिटीबाट मस्यौदाबारे प्राप्त सुझावबारे छलफल र निर्णय गर्न माओवादीले शुक्रवारदेखि आइतबारसम्म स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ ।
यसअघि गत साउन १७ देखि २१ सम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक बस्न लागेको हो।
केन्द्रीय समिति बैठकमा ८ सयजना बढी नेताहरू उपस्थित हुने भएका छन्। माओवादीको हाल केन्द्रीय समिति संख्या ४ सय ९ छ। वैकल्पिक केन्द्रीय समिति संख्या १ सय ९० छ।
त्यसैगरी केन्द्रीय समिति बैठकमा प्रदेशका पदाधिकारीलाई समेत सहभागी गराउने निर्णय भएको छ। सबै प्रदेशका कूल पदाधिकारी ९४ छन्। माओवादीले १० प्रदेशको अभ्यास गरिरहेको छ।
नेकपा माओवादी केन्द्रले यसअघि नै फागुन १ देखि तीन दिन विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान संसोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउने प्रस्ताव गरेको थियो।