अदालतसँग ट्रम्पको लडाइँ, हार्दा हार्दै पनि रणनीतिक रूपमा जितिरहेका ट्रम्प

मूलखबर संवाददाता
काठमाडौं

एक अमेरिकी अदालतले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिलाई दिइएको उन्मुक्ति उपयोग गर्ने अधिकार नभएको र पछिल्लो राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोपमा मुद्दा चलाउन सकिने बताएको छ ।

ट्रम्पले आफू आपराधिक मुद्दाबाट मुक्त भएको दाबी गरेका थिए किनभने उनीमाथिको आरोप उनी पदमा रहँदादेखिकै हो। तर, मंगलबार वासिङ्टन डिसी अदालतले दिएको आदेशले ट्रम्पको दाबीलाई खारेज गरेको छ ।

यो निर्णय ट्रम्पका लागि ठूलो झट्का मानिएको छ किनभने उनले वर्षौंदेखि राष्ट्रपतिलाई आफ्ना विरुद्ध दायर धेरै मुद्दामा उन्मुक्ति दिइने संवैधानिक व्यवस्थाको बहस गर्दै आएका छन्। पूर्व राष्ट्रपति ट्रम्पले अदालतको यस निर्णयको विरुद्धमा अपील गर्न सक्छन्, जसको मतलब अब यो मामिला अमेरिकाको सर्वोच्च अदालतमा जानेछ।

अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले ७७ वर्षीय ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितको नतिजा उल्ट्याउन खोजेको र पदमा रहन चुनावमा धाँधली गरेको आरोप लगाएका थिए । यस मुद्दाको सुनुवाई यसअघि मार्च ४ मा हुने भनिएपनि ट्रम्पले गरेको इम्युनिटी दाबीको मामिलामा फैसला हुन बाँकी रहेकाले स्थगित गरिएको थियो ।

अब के गर्लान ट्रम्प

डोनल्ड ट्रम्प सर्वोच्च अदालत जान सक्छन्। त्यहाँ तल्लो अदालतको फैसला सदर गर्ने कि बदर गर्ने भनेर फेरि सुनुवाइ हुन सक्छ। सर्वोच्च अदालतले ज्यानुअरी ६ को घटनासम्बन्धी मुद्दालाई तत्काल अगाडि नबढाउन आदेश पनि दिन सक्छ।

ट्रम्पले यही उपाय अवलम्बन गर्ने सम्भावना छ। किनभने पुनरावेदन अदालतले उनको कानुनी टोलीलाई सर्वोच्च अदालतमा जान फेब्रुअरी १२ सम्मको समय दिएको छ।

थप विलम्ब हुने वा नहुने त्यहीँ निर्धारण हुने छ।

यदि सर्वोच्च अदालतले मुद्दा हेर्न अस्वीकार गर्‍यो भने अर्को मुद्दामा सुनुवाइ अगाडि बढ्ने छ। तर मुद्दा यदि स्वीकार भयो भने अर्को मुद्दामा सुनुवाइ चुनावताका नै हुने छ। त्यस्तो अवस्थामा मुद्दा हेरिरहेका न्यायाधीश टान्या चुट्कनले सुनुवाइ राष्ट्रपतीय निर्वाचनपछिसम्मका लागि स्थगित गर्न सक्ने छिन्।

हारे पनि रणनीतिक रूपमा जितिरहेका ट्रम्प

तर त्यसबाट हुने विलम्बले सर्वोच्च अदालतमा मुद्दा हारे पनि त्यो पूर्वराष्ट्रपति ट्रम्पका लागि जितसरह हुने छ।

झन् उनी फेरि राष्ट्रपति निर्वाचित भए भने त उनीविरुद्ध सङ्घीय अदालतमा परेका सबै मुद्दा सजिलै बिलाउन सक्छन्।

राष्ट्रपतिको पदभार लिएपछि आफूले न्याय मन्त्रालयमा नियुक्त गरेका अधिकारीमार्फत् ट्रम्पले सबै मुद्दा फिर्ता लिन लगाउन सक्छन्। अथवा उनले क्षमादान दिने राष्ट्रपतिको अधिकार आफ्ना लागि अभूतपूर्व रूपमा प्रयोग गर्न पनि सक्छन्।

दोस्रो कार्यकालका लागि ट्रम्प राष्ट्रपति बने त्यसको थालनी फरक तरिकाले हुने छ। चार वर्षअघि हार अस्वीकार गर्दै उनका समर्थकहरूले दङ्गा गरेको संसद् भवनअगाडि उभिएर फेरि शपथ लिनु अर्को अभूतपूर्व कुरा हुने छ।