संघीय संसदको तेस्रो अधिवेशन र पहिलो दिनमा प्रचण्डले दिएको सन्देश

मूलखबर संवाददाता
काठमाडौं

संघीय संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को हिउँदे अधिवेशन हिजो (सोमवार)देखि सुरु भएको छ।

सोमबारको बैठक वर्तमान संघीय संसदको तेस्रो अधिवेशनको पहिलो संसद् बैठक हो । दोस्रो अधिवेशन कात्तिक १७ गते अन्त्य भएको थियो । ३ महिना ५ दिनपछि आज तेस्रो अधिवेशनको पहिलो बैठक बसेको हो ।

बैठकको सुरूमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त भएका सन्देशसहितका पत्र पढेर सुनाएका थिए । यस पटकदेखि अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरूपमा क्यालेण्डर बनाएर जाने तयारी गरिएको छ ।

विधेयक अधिवेशनका रूपमा रहने हिउँदे अधिवेशनका लागि हाल सङ्घीय संसद्‌‌मा २४ विधेयक छन् । जसमध्ये १६ संसदीय समितिमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्‌को चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताए। उनले संसद अधिवेशनको सुरुवात राम्रो वातावरणमा भएको प्रतिक्रिया दिए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो अधिवेशन विधेयक अधिवेशन हो। बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ। राम्रो वातावरणमा शुरु भएको छ। अब अगाडि बढ्छ।’