सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योगमा प्रधानमन्त्रीको अवलोकन, ‘अपग्रेड’ गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार उनले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गरेका हुन्।
प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। पूर्ण क्षमतामा सञ्चालन हुन नसकिरहेको उक्त उद्योगलाई प्रधानमन्त्री प्रचण्डले यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताएका छन्।
आफूले उद्योगको समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए। उदयपुर सिमेन्ट नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो। नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो।
कृषिबाटै उत्पादन र रोजगारी
फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन् ।
सिन्धुलीको दूधौली नगरपालिकाको सिर्थौलीमा शनिबार दूधौली नगर अस्पतालको समुद्घाटन गर्दै उनले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रूग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताए ।
भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको उनले बताए । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उनको भनाइ थियो ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताए ।
‘सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्त्वपूर्ण कदम चालेको छ’, उनले भने, ‘जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।’
प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गराए ।