नयाँ युद्ध सुरु हुने संकेतः सिरिया र इराकका ८५ स्थानमा अमेरिकाको हवाइ हमला
अमेरिकाले इराक र सिरियामा ‘इरानसँग सम्बन्ध भएका’ भन्दै ८५ स्थानमा हवाई हमला गरेको छ।
पेन्टागनले इरान समर्थित लडाकुहरूले गत आइतवार जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको हमलाको बदलामा यो आक्रमण गरिएको पुष्टि गरेको छ।
उक्त हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो भने अन्य कैयौँ घाइते भएका थिए।
अमेरिकाले इरानसँग द्वन्द्व नचाहेको दोहोर्याएको छ। यद्यपि राष्ट्रपति जो बाइडनले यस्ता आक्रमण जारी रहने चेतावनी दिएका छन्।
इरानको कुड्स फौज र त्यससँग सम्बन्ध भएको भनिएका मिलिसिया समूहहरूसँग सम्बन्धित नियन्त्रण केन्द्रहरू लक्षित आक्रमण भएको बताइएको छ।
सिरियाबाट प्राप्त विवरणअनुसार त्यहाँ २० जनाभन्दा धेरै इरानपक्षधर लडाकुको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन्। त्यहाँको सेनाले सर्वसाधारणहरू समेत मारिएको जनाएको छ।
इराक सरकारले आफ्नो भूमिमा भएको आक्रमणलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको छ। उसले सर्वसाधारणसहित कम्तीमा १६ जना मारिएको जनाएको छ।
इराकी प्रधानमन्त्रीले आफ्नो सरकारसँगको समन्वय गरेर ती हमला नगरिएको बताएका छन्। इराक सरकारले सो हमलाको उक्त क्षेत्रमा “भयानक नतिजा” देखा पर्ने चेतावनी दिएको छ।
इरानले आफूमाथि लागेका सबै आरोपहरूलाई “आधारहीन” भन्दै हमलाको निन्दा गर्ने क्रममा त्यसलाई “रणनीतिक भूल” बताएको छ।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, “हाम्रो प्रतिक्रिया आजबाट सुरु भयो। यो हामीले चाहेको समय र स्थानमा जारी रहनेछ।”
गत आइतवार जोर्डनस्थित टावर-२२ भनिने अमेरिकी सैन्य आधार शिविरमा ड्रोन आक्रमण हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यहाँ ४० जनाभन्दा बढी सैनिकहरू घाइते भएका थिए।
उक्त घटनाका लागि ह्वाइट हाउसले इरानलाई जिम्मेवार ठानेको छ र उसले त्यसको “कडा प्रतिक्रिया” दिने वाचा गरेको छ।
इराक र सिरियामा गरिएका हवाई हमलाहरूमा कैयौँ अमेरिकी लडाकु विमानहरू संलग्न भएका छन्।
त्यसमा लामो दूरीका बमवर्षक विमान पनि रहेको बताइएको छ।
हालसम्म सिरियाका चार र इराकका तीन गरी सात स्थानमा आक्रमण भएको र ८५ वटा भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकाको हमलाप्रति पहिलो प्रतिक्रिया इराकी सरकारबाट आएको छ।
इराकी प्रधानमन्त्रीका सैन्य प्रवक्ताले इराकी भूमिमा अमेरिकी बमबारीको निन्दा गर्दै सामाजिक सञ्जालमा एउटा विज्ञप्ति पोस्ट गरेका छन्।
“यी आक्रमणहरू इराकी सार्वभौमसत्ताको उल्लङ्घन, इराकी सरकारको प्रयासलाई कमजोर पार्ने काम र इराक तथा यो क्षेत्रलाई अप्रत्याशित परिणामहरूमा तान्ने खतरा हुन्,” विज्ञप्तिमा भनिएको छ।
आक्रमण भएका धेरैजसो स्थानहरू खाली गराइएको भए पनि शिया मिलिसिया समूहका सदस्यहरूको हुन सक्ने मृत्युको सम्भावनालाई लिएर बग्दाद चिन्तित रहेको छ।
ती समूहहरूले इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा थप आक्रमणहरू गर्न सक्छन्।
त्यसले तेहरान र वाशिङ्गटनबीच अहिले नै बिग्रिएको सम्बन्धलाई थप बिगार्न सक्छ।
एकजना बीबीसी संवाददातासँग एक इराकी अधिकारीले इराकी प्रधानमन्त्रीले पछिल्ला दिनमा अमेरिका र इरानबीचको तनाव कम गर्न भूमिका खेलिरहेको र तत्काल इराकी भू-भागमा आक्रमण नगर्न अमेरिकालाई सन्देश पठाएको बताएका छन्।
तर अमेरिकाले त्यसलाई बेवास्ता गरेको इराकी अधिकारीको भनाइ छ।
इराकी अधिकारीहरूले जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा सिरियाली भूमिबाट प्रहार भएको दाबी पनि गरेका छन्।
तर अमेरिकाका लागि रहेका खराब विकल्पहरूमध्ये सबैभन्दा उपयुक्त विकल्प इराक भएकाले उसले आक्रमण गरेको ती इराकी अधिकारीले बताए।
इरान के भन्छ?
गत आइतवार अमेरिकी सैन्य आधार शिविरमा भएको ड्रोन हमलामा आफ्नै कुनै पनि खालको संलग्नता नभएको इरानको भनाइ छ।
उनले ती आरोपहरूलाई “आधारहीन” भनेको छ। तेहरानले “विद्रोही समूहहरूले गर्ने उनीहरूको निर्णयमा आफू संलग्न नभएको” स्पष्ट पारेको छ।
आइतवारको आक्रमणलगत्तै इरानले त्यसमा संलग्न भएको भनिएको समूहलाई आफूले सहयोग नगरेको बताएको थियो।
इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले “प्रतिरोध समूहहरूले प्यालेस्टिनीहरू वा आआफ्ना देशको रक्षा कसरी गर्ने” भन्ने विषयमा “गरेको निर्णय प्रक्रियामा” इरान संलग्न नभएको स्पष्ट पारेका थिए।
उनका अनुसार इरानप्रति लक्षित आरोप “यो क्षेत्रको वास्तविकता उल्ट्याउने निश्चित राजनीतिक उद्देश्यले लगाइएको” इरानी सरकारी समाचार संस्था आईआरएनएलाई बताएका हुन्
बीबीसीबाट