चीनको अर्थतन्त्रमा हलचल आउने संकेत, एभरग्रान्ड ग्रुपलाई ‘लिक्विडेसन’मा जान आदेश
चीन लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको इन्जिनका रूपमा थियो। तर हालैका हप्ताहरूमा मन्दीले अन्तर्राष्ट्रिय जगतका ठूला लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ। दशकौँपछि पहिलो पटक विश्वको दोस्रो अर्थतन्त्र रहेको चीन आफैँ समस्या परेको छ।
यस वर्षको सुरुमा कोभिडका कारण भएको लकडाउनहरू हटाइएपछि आर्थिक गतिविधि बढेको थियो। सुरुवातको त्यो तीव्र वृद्धिको क्रम अहिले सुस्ताएको छ। उपभोक्ता मूल्यहरू घट्दै छ भने निर्यातमा मन्दी छाएको छ। यससँगै घरजग्गा कारोबारमाथिको संकट पनि गहिरिएको छ। युवामा बेरोजगारी बढ्दै गएपछि सरकारले तथ्यांकसमेत सार्वजनिक गर्न बन्द गरेको छ।
यसको मतलब चीनले आफ्नो आधिकारिक वृद्धि लक्ष्य लगभग ५.५ प्रतिशतसम्म गुमाउन सक्छ। जुन राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ सरकारका लागि लाजमर्दो पनि हुने विज्ञको विश्लेषण छ। यो सन् २००८ को विश्वव्यापी वित्तीय मन्दीभन्दा धेरै भयानक हुन सक्छ। चीनले त्यतिबेला विश्वको सबैभन्दा ठूलो प्रोत्साहन प्याकेज सुरु गरेको थियो भने संकटको सामना गर्ने पहिलो प्रमुख अर्थतन्त्र बनेको थियो। अहिले महामारीको प्रारम्भिक दिनहरूभन्दा ठिक उल्टो अवस्था देखिएको छ। महामारीका बेला मन्दीको सामना गर्ने चीन एकमात्र प्रमुख विकसित अर्थतन्त्र थियो।
ध्वस्त हुँदै रियल स्टेट
विश्वको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता एभरग्रान्ड ग्रुपलाई ‘लिक्विडेसन’मा जान हङकङको एक अदालतले आदेश दिएको छ ।
ऋणमा घरजग्गा (रियलस्टेट)सम्पत्ति बनाउने कम्पनी सन् २०२० देखि संकटतर्फ धकेलिएको थियो । लिक्विडेसन अर्थात सम्पूर्ण सम्पत्ति बेचेर नगदमा परिणत गर्न आदेश भएसँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा यो विषयले तरंग ल्याएको छ ।
चिनियाँ रियलस्टेट जायन्ट एभरग्रान्ड र यसका विदेशी क्रेडिटरहरूबीच ऋण पुनर्संरचनाको सम्झौता असफल भएपछि हङकङको उच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो ।
अदालतले अर्को सुनुवाइ गर्दै एभरग्रान्डको लागि लिक्विडेटर नियुक्त गर्नसक्ने बताइएको छ । अत्यधिक ऋणमा रहेको एभरग्रान्डले सन् २०२१ मा ऋण भुक्तानी डिफल्ट गरेको थियो ।
चीनको शेन्जेनमा आधारित एभरग्रान्डले सन् २०२३ मा न्यूयोर्कमा बैंकरप्सिमा गएको निवेदन दर्ता गरेको थियो ।
गत वर्ष सन् २०२३ को जुन अन्त्यसम्ममा यसका कुल दायित्व २.३९ ट्रिलियन युआन अर्थात् करिब ३३३ अर्ब अमेरिकी डलर थियो । चीनको कुल गार्हस्थ उत्पादनमा रियलस्टेट उद्योगको हिस्सा करिब ३० प्रतिशत छ ।
घरायसी सम्पत्तिको दुई तिहाइभन्दा बढी हिस्सा घरजग्गासँगै जोडिएको छ । घरजग्गा क्षेत्रको ‘बबल’लाई सुस्त पार्न चीन सरकारले सन् २०२० मा अत्यधिक ऋण लिन रोक लगाएको थियो । त्यसयता कयौँ चिनियाँ रियलस्टेट कम्पनी डिफल्टमा गएका छन् ।