माओवादी नेतृत्वको संकेत- माओवादी घटकबीच एकता, कांग्रेससँग पुनर्विचार
माओवादी केन्द्रका शीर्ष नेताहरूले अबको राजनीतिक घटनाक्रमबारे फरक संकेत गरेका छन्। अब माओवादी घटकको एकतामा जोड दिने र कांग्रेससँगको गठबन्धनमा पुनर्विचार गर्नुपर्ने माओवादी नेताहरूको संकेत छ।
शनिबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सहिद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको रक्षाका लागि माओवादी घटकहरूबीच एकता अपरिहार्य रहेको बताए।
उनले विभाजित भएर लक्ष्यमा पुग्न नसकिने बताउँदै माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका हुन्।
‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको बताउँदै जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।
‘कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरुलाई घाइतेको सूचीमा समावेश गरिन्छ,’ उनले भने, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ।’
प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष प्रचण्ड’ले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास दिलाए। सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो।
सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रिकृत हुने विश्वास पनि व्यक्त गरे।
‘समान त्याग र बलिदान गरेकाहरु एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्,’ उनले भने, ‘त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ।’
माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पु-याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए।
प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको बताउँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रियाको मोडल बाह्य जगतका लागि पनि अनुकरणीय रहेको उनको भनाइ थियो।
अनन्त भन्छन्- गठबन्धनबारे पुनर्विचार गरौँ
उता, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि नेपाली कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।
शनिबार गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गरे। हरेक निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिए पनि कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको उनको भनाइ छ।
‘कोसी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उमेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’
शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए।
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उमेदवार बनाएको थियो। सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।