माओवादी निम्तोमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली, के छ सन्देश
चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल शुक्रबारदेखि नेपालमा छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको नेतृत्वमा चिनियाँ प्रतिनिधिमण्डल माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा नेपाल आएको हो।
काठमाडौं आएपछि राजनीतिक भेटघाटमा व्यस्त रहेकी उपमन्त्री सुन हायानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेकीकी छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।
कम्युनिष्ट एकताकै सन्देश
प्रचण्डसँगको भेटमा उपमन्त्री हायानले कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे चासो राखेकी थिइन्। चीनले घुमाउरो भाषामा नेपालका कम्युनिष्ट मिल्नुपर्ने सन्देश दिन छोडेको छैन।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि उपमन्त्री सुन हायानले शनिबार नै भेट गरेकी छिन्। ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल-चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए।
उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरिन्। उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए।
४५ मिनेट भएको डेलिगेसन तहको भेटवार्तामा एमालेबाट अध्यक्ष ओली सहित विष्णु रिमाल, राजन भट्टराई, विदेश विभाग सदस्य अन्जान शाक्य र गोपाल खनाल थिए ।
नयाँ वर्ष २०२४ सुरुवात भएपछि नेपाल आउने यो नै उच्चस्तरीय चिनियाँ टोली हो। प्रतिनिधिमण्डलमा चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योया (सरला)लगायत सहभागी छन्।
गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए। उपमन्त्री सुनले १४ माघ (आइतबार)मा प्रमुख पार्टीका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे आयोजित सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम छ।