चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको टोली काठमाडौंमा, शीर्ष नेतासँग भेट्ने

मूलखबर संवाददाता
काठमाडौं

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डल ४ दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ। सिपिसी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हेयान नेतृत्वको टोली शुक्रबार मध्यान्ह काठमाडौं आइपुगेको हो।

टोलीलाई नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्पा भुषाल तथा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ लगायतका नेपाली एवं चिनियाँ अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

छिमेकी देश बंगलादेश हुँदै नेपाल आइपुगेको टोलीले नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित अधिकाँश पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने छ।

चिनियाँ टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी चिनियाँ स्रोतले दिएको छ।

टोलीले शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने छ भने भोलि शनिबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि भेटवार्ता गर्ने छ।

यो टोली मालदिभ्स भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको थियो। बंगलादेश भ्रमणका क्रममा हेयानले बिहीबार त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी थिइन्।

बङ्गलादेशमा नयाँ सरकार बनेपछि चिनियाँ पक्षको पहिलो उच्चस्तरीय भ्रमण भएको हो।

त्यसअघि उनले गत सोमबार माल्दिभ्समा त्यहाँका राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाट गरेकी थिइन्। त्यसक्रममा केही द्विपक्षी सम्झौता पनि भएको छ।

ढाका भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रबार मध्यान्ह नेपाल अवतरण गरेको हो। उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग यही आइतबार होटल सोल्टीमा सामूहिक छलफल गर्ने तालिकासमेत रहेको छ।

सन् २०२२ मा मन्त्री लिउ जियानचाओको भ्रमण पछि सिपिसी विदेश विभागकी उपमन्त्रीको रूपमा सनको पहिलो नेपाल भ्रमण हो। चीनले नेपालसँगको कूटनीतिक सम्बन्धलाई निरन्तर महत्त्व दिएको कुरालाई जोड दिएको पुष्टि पछिल्ला भ्रमणले गरेको छ।