उत्तर कोरियाली नेता उनले साच्चिकै युद्ध सुरु गरे भने !…
उत्तर कोरियाबारे जानकारहरू स्वभावैले सावधानीपूर्वक टिप्पणी गर्ने किसिमका हुने गर्छन् जसले हम्मेसी जनमानसमा त्रास छर्ने कामबाट परै रहन्छन्।
तर यो समूहका दुई जनाले गरेको टिप्पणीले उनीहरू अहिले विचलित भएका छन्।
गत साता उत्तर कोरियाली मामिलाबारे दुई जना प्रतिष्ठित विश्लेषकहरूले अनपेक्षित टिप्पणी गर्दै प्योङ्याङका नेताले युद्ध छेड्न तयारी गरिरहेको बताए।
उनीहरूले भने: किम जङ्-अनले दक्षिण कोरियासँग मेलमिलाप र पुनर्एकीकरणको आधारभूत लक्ष्य त्यागेका छन्। त्यसको साटो उनले उत्तर र दक्षिण कोरियालाई युद्धरत दुई स्वतन्त्र देशका रूपमा प्रस्तुत गरिरहेका छन्।
“सन् १९५० उनका हजुरबुबाले लिएको जस्तै किम जङ्-अनले पनि युद्धमा होमिने रणनीतिक निर्णय लिएको हाम्रो विश्वास छ,” अमेरिकी गुप्तचर निकाय सीआईएका पूर्व अधिकारी रोबर्ट एल कार्लीन र उत्तर कोरियाको पटक पटक भ्रमण गरिसकेका परमाणु वैज्ञानिक डा. सिगफ्राइड एस. हेकरले थर्टी एट नोर्थ नामक विशेष साइटमा लेखेका छन्।
उनीहरूको त्यस्तो टिप्पणीले वाशिङ्टन र सोलमा चेतावनी घण्टी बजाइदियो भने उत्तर कोरियालाई नियाल्ने समूहका सदस्यहरूमाझ खैलाबैला मच्चियो।
अन्य अधिकांश विश्लेषकहरूले युद्धबारेका ती टिप्पणीप्रति असहमति जनाएका छन्। एसिया, युरोप तथा उत्तर अमेरिकामा छरिएका ७ जना विश्लेषकहरूसँग बीबीसीले कुरा गर्दा कसैले पनि त्यसप्रति सहमति जनाएनन्।
“सम्भावित प्रलयकारी युद्धमा होमिएर आफ्नो सम्पूर्ण राज्यसत्ता दाउमा राख्ने कुरा उनीहरूको स्वभावअनुसार मिल्दैन। उत्तर कोरियालीहरू निकै कठोर राजनीतिक तथा रणनीतिक दाउपेचका खेलाडी हुन्,” द नेदर्ल्यान्ड्सस्थित क्राइसिस ग्रुपका कोरिया विश्लेषक क्रिस्टोफर ग्रीनले भने।
ग्रीन तथा अन्य विश्लेषकका अनुसार पश्चिमा शक्तिहरूलाई वार्ताको टेबलमा ल्याउन एवं घरेलु राजनीतिक दबाव झेल्न पनि उनीहरूले विभिन्न हरकत गर्ने गर्छन्।
तर किमका क्रियाकलापलाई पूरै बेवास्ता गर्न नहुने भन्दै उनको सत्ता थप खतरनाक बन्दै गएकोमा भने उनीहरूले सहमति जनाए।
युद्ध सम्भव नभएकोमा धेरैले सहमति जनाए पनि सीमित परिमाणका आक्रमण हुन सक्नेबारे भने कतिपयले चिन्ता जनाए।
उत्तर कोरियालाई नजिकबाट नियाल्नेहरू किम जङ्-अनका परमाणु धम्कीहरूबाट अनभिज्ञ छैनन्। तर कतिपय ठान्छन् प्योङ्याङबाट आउन थालेका पछिल्ला सन्देशहरू फरक किसिमका छन्।
नयाँ वर्षको पूर्वसन्ध्यामा किमले ‘कोरियाली प्रायद्वीपमा कुनै पनि समय युद्ध छेडिन सक्ने कुरा स्पष्ट’ भएको बताए। त्यसको ६ दिन नबित्दै उनको सेनाले सीमापार तोप पड्कायो।
ज्यानुअरी यता उत्तर कोरियाले नयाँ ठोस इन्धनयुक्त क्षेप्यास्त्रको परीक्षण गरेको दाबी गरेको छ भने परमाणु अस्त्रसमेत बोक्न सक्ने पानीमुनि सञ्चालन हुने आक्रामक ड्रोनको पनि परीक्षण गरेको छ।
गत दुई वर्षमा हरेक महिना जसो उसले राष्ट्रसङ्घका प्रतिबन्ध उल्लङ्घन गर्दै क्षेप्यास्त्र प्रहार तथा अस्त्र विकास गरिरहेको छ।
तर जब उनले गत साता कोरियाली एकीकरणको लक्ष्य औपचारिक रूपमा त्यागेको घोषणा गरे त्यसले भने धेरैलाई सजग बनाएको छ।
उत्तर कोरियाको स्थापना कालदेखि नै दक्षिणसँगको पुनर्एकीकरण उसको मूलभूत सिद्धान्त रहँदै आएको थियो।
“यो (घोषणा)ले निकै महत्त्व बोकेको छ। यसबाट उक्त राज्यसत्ताको मूल आदर्शमा आधारभूत बदलाव ल्याएको छ,” सोलस्थित कुकमिन विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता पिटर वार्डले भने।
किम जङ्-अनले अब पुरानो विरासत भत्काउने छन्। उनले कूटनीतिक वार्ताका माध्यमका साथै सीमा वारपार हुने रेडियो प्रसारण रोकिदिएका छन् भने प्योङ्याङको बाहिरी भागमा बनाइएको नौ तले रियुनिफिकेशन आर्च भत्काइने भनेका छन्।
परम्परागत कोरियाली भेषभूषामा सज्जित दुई महिला एक अर्कातर्फ अग्रसर भइरहेको दर्शाउने उक्त आर्च कोरियाली एकीकरणसम्बन्धी किमका बुबा तथा हजुरबुबाका लक्ष्य स्मरण गर्न सन् २००१ मा निर्माण गरिएको थियो।
प्लानेट ल्याब्सले मङ्गलवार भूउपग्रहबाट खिचेका तस्बिरमा आर्च भत्काइसकिएको हो कि भन्ने देखाउँछ तर त्यसको आधिकारिक पुष्टि भएको छैन।
सन् १९५० मा युद्धमा होमिने किम इल सुङ् थिए। तर उनैले कुनै समय दक्षिणसँग एकीकरण हुने विषय पनि सकारिरहे।
तर उनका नातिले दक्षिण कोरियालीलाई बेग्लै मानिसका रूपमा पेश गरिरहेका छन् – शायद तिनलाई सैन्य निसाना बनाउन सजिलो हुने गरी।
सीमित आक्रमणको तयारी हो?
युद्ध हुन लागेको बताउने कार्लीन र डा. हेकरले सबै सङ्केतहरूले किम जङ्-अन युद्धकै मनस्थितिमा पुगेको अनुमान गरेका छन्।
तर अधिकांश विश्लेषकहरू त्यस्तो निचोडमा सहमत छैनन्।
जोर्ज डब्लु बुश फाउन्डेशनमा अमेरिका-चीन सम्बन्ध अध्येता सोङ्-ह्योन लीले उत्तर कोरियाले आगामी महिनादेखि विदेशी पर्यटकलाई स्वागत गर्न लागेको अनि उसका हतियार रुसलाई दिएको विषयतर्फ औँल्याउँदै आफैँ युद्धमा होमिन लागेको भए प्योङ्याङले त्यसो नगर्ने बताए।
उत्तर कोरियाको नजरमा युद्धको सबैभन्दा महत्त्वपूर्ण रोकावट चाहिँ अमेरिका र दक्षिण कोरियाका अत्याधुनिक सेनाको उपस्थिति नै हो।
“युद्ध भयो भने दक्षिणमा धेरै मानिस मारिने छन्। तर त्यसले किम जङ्-अन तथा उनको राज्यसत्ता चाहिँ समाप्तै हुनेछ,” कुकमिन विश्वविद्यालयका पिटर वार्डले भने।
बरु सीमित प्रकारका सैन्य कारबाही हुनसक्ने छाँट रहेको उनी तथा अन्य विश्लेषकहरूले चेतावनी दिएका छन्।
“दक्षिण कोरियामा सीमित प्रकृतिको आक्रमण होला भन्ने बारेमा चाहिँ म निकै चिन्तित छु…त्यस्तो आक्रमणले दक्षिण कोरियाली भूभाग वा सैन्य फौजमाथि निसाना बनाउने छ तर सीमित प्रकारको हुने छ,” कार्नेजी इन्डावमेन्ट फर इन्टर्न्याशनल पिसका विश्लेषक अङ्कित पान्डाले भने।
दक्षिण कोरियाको संयम जाँच्नका निम्ति पनि त्यस्तो कारबाही हुनसक्ने विश्लेषकहरू ठान्छन् किनकि वर्तमान राष्ट्रपति युन सुक योल कट्टरपन्थी मानिन्छन् र उनले उत्तरले गर्ने आक्रमणको ‘कैयन् गुना सशक्त’ जबाफ दिइने बताउँदै आएका छन्।