शिक्षा मन्त्री भट्टराइले दिइन् राजीनामा, नैतिकता देखाएको भन्दै प्रशंसा

मूलखबर संवाददाता
काठमाडौँ, ८ वैशाख

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले  राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएकी प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी छिन् ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । उनले नैतिकता देखाएको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा भएको छ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् । उनी गत ३१ असारमा शिक्षामन्त्रीमा नियुक्त भएकी थिइन्  ।

कास्की क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष निर्वाचित भएर उनी संघीय सांसद बनेकी थिइन् । शिक्षामन्त्री बन्नुअघि उनी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यको रूपमा सक्रिय थिइन् ।

उनका श्रीमान (तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री) रवीन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि भट्टराईले उपप्राध्यापकबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् ।