शिक्षामन्त्रीको राजीनामाको मुख्य कारण प्रधानमन्त्री ओली, शिक्षकका मागप्रति ओली अनुदार

मूलखबर संवाददाता
काठमाडौं, ९ बैसाख ।

शिक्षामन्त्री विद्या भट्टराईको राजनीमाको मुख्य कारण प्रधानमन्त्री केपी ओलीको असहयोग नै रहेको देखिएको छ । विद्यालय शिक्षा ऐन माग्दै २० दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकका मागमा प्रधानमन्त्री केपी ओली गम्भीर नभएपछि दबाबमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन् । सोमबार अपराह्न पनि एक घण्टासम्म प्रधानमन्त्रीलाई भेटेर शिक्षकमा माग सम्बोधनका लागि ध्यानाकर्षण गराएकी उनी चित्तबुझ्दो जवाफ नपाएपछि ५ बजेतिर राजीनामा बुझाएर बालुवाटारबाट निस्किएकी हुन् ।

शिक्षकका आन्दोलनबिच कक्षा १२ को परीक्षा नै अन्योल, नयाँ शैक्षिक सत्रको भर्ना तथा पठनपाठन सञ्चालन र एसइईको उत्तरपुस्तिका जाँचजस्ता शैक्षिक गतिविधि ठप्प भएपछि विभागीय मन्त्रीको हैसियतमा भट्टराई दबाबमा थिइन् । तर, ऐन ल्याउने ग्यारेन्टी दिएर शिक्षकलाई विद्यालयमा फर्काउन प्रधानमन्त्री तहबाटै प्रतिबद्धता नभई सम्भव छैन । यद्यपि, उल्टै शिक्षकमाथि घोचपेचमा उत्रिएका प्रधानमन्त्री ओलीले साथ नदिएपछि भट्टराईले राजीनामा दिइन् ।

शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीसमक्ष बैठकमा राखेका विषय मान्य नहुने देखिएपछि राजीनामा बुझाएको उनको सचिवालयका सदस्य अशेष पोखरेलले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूसँग उहाँ (शिक्षामन्त्री) छलफलमा बस्नुभएको थियो, तर विद्यालय शिक्षा विधेयकमा समाधान आउने देखिएन,’ उनले भने, ‘प्रधानमन्त्रीबाटै सहयोग नहुने र शिक्षकहरूबाट पनि दबाब आइरहने भएपछि उहाँले राजीनामाको निधो गर्नुभयो । उहाँको हातमा मात्रै केही पनि थिएन ।’

मन्त्री भट्टराई मन्त्रालयका अधिकारीहरूसमेत लिएर प्रधानमन्त्री भेट्न पुगेकी थिइन् । एक कर्मचारीका अनुसार उनले तत्काल शिक्षा ऐन ल्याउन सहयोग गर्ने भए राजीनामा नदिने, नत्र पदमा रहनुको औचित्य नरहेको बताउँदा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया नै दिएनन् । ‘तत्काल ऐन ल्याउन सहयोग गर्ने भए म राजीनामा दिन्नँ, तर यस्तै अवस्था हो भने मैले पदमा बस्नुको अर्थ हुँदैन, मेरो स्वास्थ्यमा पनि समस्या छ,’ छलफलमा उपस्थित मन्त्रालयका एक कर्मचारीले भने, ‘प्रधानमन्त्रीले टाउको हल्लाउनुभयो, खासै बोलेर जवाफ दिनुभएन, मन्त्रीज्यूले राजीनामा–पत्र बोकेर जानुभएको थियो, ५ बजे बुझाएर फर्किनुभयो ।’ स्रोतका अनुसार भट्टराईले स्वास्थ्य समस्याको कारण देखाएर राजीनामा दिएकी छिन् । तर, राजीनामालगत्तै उनले नियमित सञ्चालनमा रहेका दुवै फोन स्विच्ड अफ गरेकी छिन् । मन्त्री भट्टराईसँग राजीनामाबारे प्रतिक्रिया लिन खोज्दा रातिसम्म पनि सम्पर्क हुन सकेन । साँझ बसेको मन्त्रिपरिषद् बैठकमा पनि उनी उपस्थित थिइनन् । यसले उनी दबाबमा रहेको स्पष्टै हुन्छ ।

शिक्षक नेताहरूका अनुसार शिक्षामन्त्री भट्टराई आफूहरूका माग सम्बोधनका लागि सकारात्मक र सक्रिय थिइन् । तर, प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे र सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ शिक्षकका अपेक्षाप्रतिकूल बोलेपछि माहोल थप बिग्रिएको खबर नयाँ पत्रिकामा छ।