रूसी सेनामा भर्ना भएका युवा फिर्ताबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं, ३ माघ ।
प्रतिनिधि सभा सदस्य उर्मिला माझी पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रूसी सेनामा भर्ती भएका युवाहरूलाई तत्काल नेपाल फर्काउने वातावरण बनाइदिन तथा हालै मृत्यु भएका दुधपाेखरी गाउँपालिका वडा नं १ का साजन गुरूङकाे शव ल्याउन पहल गरिदिन ध्यानाकर्षण गराएकी छिन् ।
लमजुङबाट माओवादी केन्द्रकाे तर्फबाट संसदमा प्रतिनिधित्व गरेकी सांसद माझीले बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएकी हुन् ।
भेटबारे जानकारी दिँदै सांसद माझीले प्रधानमन्त्रीले गम्भीरता साथ विषयलाई लिएको पाएको बताइन् । भेटमा सँगै रहनुभएका प्रेस सेन्टरका महासचिव सन्ताेष पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले विषय अत्यन्त गम्भीर भएको र यस विषयमा सरकारले रूसी सरकारसँग युवाहरूलाई भर्ती नगर्न, गरेको भएमा फिर्ता गराईदिन र नेपाली नागरिक युवाहरूलाई पनि स्वदेश फर्कन आग्रह गरिसकेको बताउनुभयो । साथै साजन गुरूङको मृत्युको सम्वन्धमा पनि कुटनैतिक तवरबाट यथासिघ्र पहल गर्न निर्देशन दिएको बताउनुभयो ।
सांसद माझीले हाल सम्म लमजुङबाट ७ जना युजाहरू रूसी सेनामा भर्ती भएको जानकारी आएको र थप जानकारी संकलन भइरहेको बताइन् ।