कीर्तिमानी कार्यकाल बनाउने प्रचण्डको प्रण, मन्त्री फेरबदलको संकेत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो १ वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन्।
सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’को उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘तपाईंहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ। जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिशंकु संसद्ले राजनीतिक स्थायित्व दिने/नदिनेमा निकै ठूलो संशय थियो। तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन्।’
प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीहरूलाई उत्साही भएर काम गर्न आग्रह गरे।
प्रधानमन्त्रीले भने, ‘यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ। विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ। पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ। बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ। यो हाम्रा लागि खुसीको कुरा हो। तसर्थ उत्साही भएर काम गरौँ।’
मन्त्री फेरबदलको संकेत
प्रचण्डले काम नगर्ने मन्त्रीहरुलाई महिना दिनमै हेरफेर गर्ने चेतावनी दिएका छन्।
‘आजकाल म १० बजे नै सिंहदरबार पुग्छु। सबै मन्त्रालयहरुको ब्रिफिङ लिन्छु। उनीहरुलाई टार्गेट दिन्छु। यो एक महिनाभित्र पूरा भएन भने हेरफेर गर्ने प्रतिवद्धता व्यक्त गरेको छु,’ प्रचण्डले भने।
आफ्नै कार्यशैलीबाट सरकारलाई अझ सुधारको गतिमा लैजाने प्रचण्डले बताए। गत पुस १० गते जनताको नाममा सम्बोधन गर्दै काम गर्न नसक्ने मन्त्रीहरुलाई ठाउँ ओगटेर नबस्न भनेका थिए। ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन,’ दाहालले भनेका थिए, ‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’
प्रचण्डले कार्यसम्पादनमा अब्बल नभए आफूले पनि पद ओगटिरहन नमिल्ने बतएका थिए। ‘यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन,’ उनले भनेका थिए।