
राष्ट्रियसभा चुनावः माओवादी उम्मेद्ववारविरुद्ध एमालेको उजुरी, गठबन्धनको संयुक्त रणनीति
सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुने कार्यतालिका छ । मनोनयन दर्ता गराएका उम्मेद्वारविरुद्ध हिजो दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो ।
मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गरिने छ ।
यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिश्वकर्माविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
उजुरीविरुद्ध बुधबार र विहीबार जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र त्यसपछि भने उमेदवारको अन्तिम नामावली प्रकाशित हुने छ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यसूची तय गरिएको छ । विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट १९ सदस्यकालागि निर्वाचन हुन लागेको हो ।
सत्ता गठबन्धनको संयुक्त रणनीति
यसैबीच, राष्ट्रिय सभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ।
मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो।
समितिले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।
