मोदीको नेतृत्वमा महाशक्ति बनिरहेको भारत
चाङ चियादोङ
मैले हालै दुई पटक भारत भ्रमण गरेँ। चार वर्षपछि पहिलो पटक म भारत पुगेको थिएँ। भारतको घरेलु र अन्तर्राष्ट्रिय स्थितिमा चार वर्षपहिलेको तुलनामा व्यापक परिवर्तन आएको यात्राको क्रममा मैले मेसो पाएँ। आर्थिक विकास र सामाजिक शासनको क्षेत्रमा भारतले उत्कृष्ट नतिजा प्राप्त गरेको छ। उसको महाशक्ति रणनीति पनि सपनाबाट यथार्थमा बदलिएको छ। तर, यससँगसँगै सम्भावित जोखिम र संकट पनि सामुन्ने आउन थालेका छन्।
एकातिर भारतले आर्थिक विकास र सामाजिक शासनका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ। भारतको अर्थतन्त्रले गति पक्रेको छ र यो विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेका प्रमुख अर्थतन्त्रमध्ये एक बनेको छ। अर्कोतिर, नयाँ दिल्लीले सहरी विकासमा प्रगति गरेको छ। अझै पनि तुवाँलो बाक्लै लाग्छ। तर, चार वर्षअघि विमानबाट ओर्लिनेबित्तिकै नाकमा ठोक्किन आउनै जुन अलग्गै गन्ध थियो, त्यो अहिले हराएको छ। यसले के सुझाउँछ भने नयाँ दिल्लीको वातावरण केही हदसम्म राम्रो भएको छ।
भारतीय प्रतिनिधिहरुसँगको कुराकानीका क्रममा चिनियाँ विद्वानहरुप्रति उनीहरुको रवैया कहिलेकाहीँ हठपूर्ण भए पनि ज्यादाजसो सहज र संयम थियो। उदाहरणका लागि, पहिले चीन र भारतबीचको ‘व्यापार असन्तुलन’ बारे छलफल हुँदा भारतीय विद्वानहरु खासगरी व्यापार घाटा कम गर्न चीनले अपनाएका उपायहरुमा ध्यान केन्द्रित गर्दथे। तर, अहिले उनीहरु भारतको निर्यात क्षमतामा ज्यादा जोड दिइरहेका छन्। उनीहरु सक्रिय रुपमा पहलकदमी लिई भारतबाट चीनमा आयात बढाएर व्यापार घाटा कम गर्ने प्रयास गरिरहेका छन्।
यसका अलावा, तीव्र आर्थिक र सामाजिक विकासका साथ भारत रणनीतिक रुपले ज्यादा निर्धक्क बनेको छ। र, ‘भारत संकथन’ निर्माण र विकासमा ज्यादा सक्रिय बनेको छ।
कूटनीतिको क्षेत्रमा भारत तीव्र गतिमा महाशक्ति रणनीतितर्फ अघि बढेको छ। प्रधामन्त्री नरेन्द्र मोदी सत्तामा आएदेखि उनले एकै पटक धेरै शक्तिसँग सहकार्य गर्ने रणनीतिको वकालत गरेका छन्। उनले अमेरिका, जापान, रुस र अन्य मुलुक तथा क्षेत्रीय संगठनहरुसँग भारतको सम्बन्ध प्रवद्र्धन गरेका छन्। अहिले विदेशनीतिको मामिलामा भारतको रणनीतिक सोचमा अर्को परिवर्तन आएको छ। र, यो स्पष्ट रुपमा महाशक्ति रणनीतितर्फ अघि बढिरहेको छ।
रुस–युक्रेन द्वन्द्वका सम्बन्धमा भारतले आफूलाई पश्चिमबाट अलग गरेको छ र अलि बढी विकासशील विश्वसँग नजिक पुर्याएको छ। साथै, पश्चिमी शक्तिप्रतिको भारतको फरक मत निकै कम भएको छ। र, पश्चिमा मुलुकभित्र भारतको गतिविधि निकै बढेको छ।
राजनीति र संस्कृतिको क्षेत्रमा पश्चिमसँगको आफ्नो लोकतान्त्रिक सर्वसम्मतिबाट हटेर भारत लोकतान्त्रिक राजनीतिमा ‘भारतीय विशेषता’ लाई जोड दिने ठाउँमा आइपुगेको छ। अहिले त लोकतन्त्र नै भारतबाट उत्पत्ति भएको कुरामा ज्यादा चर्चा गर्न थालिएको छ। भारतीय जनता पार्टीका पूर्वमहासचिव राम माधवले ‘लोकतन्त्रको भारतीय संस्करण’ हुनुपर्नेमा जोड दिएका छन्।
उपनिवेशका कारण निर्मित राजनीतिक रुपले कमजोर छविबाट मुक्त हुन मात्र चाहँदैन भारत। बरु, राजनीतिक र सांस्कृतिक दुवै तरिकाले विश्वको अगुवा बन्न चाहन्छ। डिसेम्बर २०२३ मा भारतको सांस्कृतिक सम्बन्ध परिषदले पहिलो ‘ज्ञान भारती कार्यक्रम’ आयोजना गर्यो। जहाँ ३५ मुलुकका ७७ भन्दा बढी विद्वानहरु जम्मा भएका थिए।
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले बलियो ‘भारत संकथन’ निर्माण गर्नु महत्वपूर्ण हुने बताएका छन्। उनले अर्थशास्त्र, विकास, राजनीति र संस्कृतिको सन्दर्भमा ‘भारत संकथन’ को व्याख्या गरेका छन्। पक्कै पनि भारत अब सांस्कृतिक परम्परालाई आफ्नो हित प्राप्त गर्ने वा विदेशी पर्यटक आकर्षित गर्ने माध्यम मात्र मान्दैन। बरु, महाशक्तिका रुपमा भारतको हैसियतको एउटा स्तम्भ पनि मान्छ।
भारतको आन्तरिक र बाह्य नीतिमा भएका यस्ता परिवर्तन भारतको दीर्घकालीन नीतिअनुरुप नै छ। भारतले सधैँ आफूलाई विश्व शक्ति मान्दै आएको छ। भारतले आफूलाई बहुशक्ति सन्तुलनबाट बहुसंलग्नतामा बदलेको १० वर्ष पनि पुगेको छैन। अहिले बहुध्रुवीय विश्वमा भारत तीव्र गतिमा आफूलाई एक ध्रुवका रुपमा उभ्याउने रणनीतितर्फ लम्किरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा यस्तो तीव्र परिवर्तन विरलै देख्न पाइन्छ।
पक्कै पनि भारत प्रमुख शक्ति हो। र, उसको आन्तरिक र बाह्य रणनीतिमा हुने तीव्र परिवर्तनले भारत आफैँ र अन्तर्राष्ट्रिय समुदायका लागि पनि चुनौती पेस गर्छ। बदलिएको, मजबुत र अझ मुखर भारत एक नयाँ भूराजनीतिक तत्व बनेको छ। जसलाई थुप्रै मुलुकहरुले विचार गर्न आवश्यक छ।
ग्लोबल टाइम्समा प्रकाशित लेख