
अदालतको आदेश आएलगत्तै रास्वपा सभापति लामिछाने पक्राउ, पक्राउ पुर्जी नै नलिइ प्रहरी पुग्यो घरमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको १० मिनेटमै पक्राउ पुर्जी समेत नलिई प्रहरी लामिछानेको घरमा पुगेको थियो । उनी आफ्नै निवास बुढानिलकण्ठबाट पक्राउ गरिएका हुन् ।
उनले आफूले अदालतको आदेशलाई सम्मान गर्दै गिरफतारी दिने कुरा सामाजिक सञ्जालमा बताउँदै गर्दा प्रहरी घरमा पुगेको थियो । उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । अदालतको आदेशपछि प्रहरी टोली लामिछाने निवास बुढानीलकण्ठ पुगेको थियो । उनले पक्राउ पुर्जी देखाउन माग गरेका थिए । त्यसले गर्दा प्रहरी झन्डै १ घण्टा लामिछाने निवासमा बस्नु परेको थियो । प्रहरीले उनको निवासबाटै अदालतबाट पक्राउ पुर्जी मगाएको थियो ।
प्रहरी स्रोतका अनुसार उनलाई आज काठमाडौं प्रहरी परिसरमै राखिने भएको छ । उनलाई शनिबार कसरी रुपन्देही पठाउने भन्ने निर्णय भोलि नै हुने प्रहरी स्रोतले बतायो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेलाई थुनामै राख्न माग गर्दै सरकार रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगेको थियो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
लामिछानेमाथि सरकारले राजनीतिक पुर्वाग्रह राखेको आरोप रास्वपाले लगाउँदै आएको छ । लामिछानेले आफूले अदालतको आदेशको सम्मान गर्ने बताउँदै आफूलाई अन्य अदालतको ढोका खुलै भएको कुरा सार्वजनीक गरेका छन् ।
उनले लेखेका छन् -‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’
