लमजुङको विकासमा सर्वपक्षिय प्रतिवद्वता आवश्यक : सांसद माझी

मूलखबर संवाददाता
लमजुङ, २२ पुस

प्रतिनिधिसभा सदस्य उर्मिला माझी पाैडेलले लमजुङको विकासमा सर्वपक्षीय प्रतिवद्वता आवश्यक रहेकाे बताउनुभएको छ ।

गण्डकी प्रदेश नीति तथा याेजना आयाेगद्वारा आइतबार लमजुङको  जिल्ला सदरमुकाम बेसिशहरमा आयाेजित दाेश्राे पञ्चवर्षिय याेजना तर्जुमा सम्वन्धि कार्यक्रममा सम्वाेधन गर्दै सांसद माझीले याेजना तर्जुमा गर्दा याेजनाकाे आवश्यकता पहिचान र प्राथमिकरण गर्नुपर्नेमा जाेड दिनुभयाे ।

संसदकाे पुर्वाधार विकास समिति सदस्य समेत रहनुभएकी माओवादी केन्द्रकि सांसद माझीले लमजुङको विकास याेजना निर्माण गर्दा कृषि, जलविद्युत, पर्यटनको साथमा जलवायु परिवर्तनको असर न्युनिकरणलाई पनि समेटनुपर्ने बताउनुभयाे ।

उहाँले याेजना निर्माण गर्दा र बजेट विनियोजन गर्दा नागरिकलाई गरीबीकाे रेखाबाट माथि उठाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे- हामी अझै पनि गरिबीको रेखामुनि रहेको अवस्था छ, हामीले लमजुङको विकास त्यतिबेला मात्रै अनुभुत गर्न सक्छाै जतिबेला गरीबी अन्त्य हुनेछ । याेजना छनाैट गर्दा पहुँचका आधारमा नभई लक्षित वर्ग र क्षेत्रकाे आवश्यकताकाे आधारमा गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले पालिका अध्यक्ष र सराेकारवालाहरूलाई बजेट निर्माण गर्दा लक्षित वर्ग, समुदाय र क्षेत्रमा समानुपातिक वितरणमा समेत ध्यान दिन आग्रह गर्नुभयाे । उहाँले सबैले आफ्नो ठाउँबाट लमजुङको विकास र समृद्धिकाे लागि सक्दाे पहल गर्न आग्रह गर्दै आफू लमजुङको विकास र जनताको समृद्धिकाे लागि सधैं प्रतिवद्व भएको बताउनुभयाे ।

कार्यक्रममा प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहनुभएकाे थियाे भने गण्डकी प्रदेश सांसदहरू डा. टकराज गुरूङ, भेष बहादुर पाैडेल, टीका बस्याल, पार्वती तामाङलगायतकाे सहभागीता रहेको थियाे ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरू, कार्यकारी अधिकृतहरू, जिल्ला स्थित सरकारी कार्यलय प्रमुखहरू र सञ्चारकर्मीहरूकाे उपस्थिति रहेको थियाे ।