जयशंकरको नेपाल भ्रमण- यी हुन् दुई देशबीच भएका मुख्य सम्झौता
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विहीबार आयोजित बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेशनल थर्मल पावर कर्पोरेशनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इण्डिया (एनएसआईएल) बीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
विहीबार नै दुई देशबीच १३२ किलोभोल्ट क्षमताका रक्सौल परवानीपुर, कुशाहा कटैया र न्यू नौतनवा मैनाहिया अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरिएको छ । भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले रु १० अर्ब अनुदान सहयोग गर्ने घोषण गरेको छ ।
यस्तै नवीकरणीय ऊर्जा विकासमा सहयोगसम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ । यो समझदारीपत्रले नवीकरणीय ऊर्जामा सहकार्यका लागि सकारात्मक नतिजा हासिल हुने विश्वास गरिएको छ ।
यस्तै रक्सौल–परवानीपुर लाइनको दोस्रो सर्किट, कटैया–कुसाहा लाइनको दोस्रो सर्किटसहित तीन वटा १३२ केभी अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन भएको छ ।
यस्तै भारत सरकारले उपलब्ध गराएको जाजरकोट भूकम्पपछिको राहत सामग्रीको पाँचौँ किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
यसबाहेक, जाजरकोटमा हालैको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पु¥याउन भारत सरकारले अनुदान सहायताअन्तर्गत करिब रु १००० करोडको आर्थिक सहायता प्याकेज उपलब्ध गराउने पनि विदेश मन्त्रालयले घोषणा गरेको छ ।
बिहीबार नै जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरे। यी भेटमा पारस्परिक हितका द्विपक्षीय विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्रीले नेपालका अन्य वरिष्ठ राजनीतिक नेताहरूसँग पनि भेटवार्ता गरेका थिए । उनको सम्मानमा बिहीबार नै साउदले रात्रिभोजको पनि आयोजना गरेका थिए ।
यसैबीच भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको नयाँ भवन जयशंकरले आज शुक्रबार उद्घाटन गर्नेछन् । नेपालको कार्यक्रम सकेर उनी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।