
पाँच महिनामा ६ खर्ब ४० अर्ब रेमिटान्स भित्रियाे
चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ४.४ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको पाँच महिनासम्ममा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्षको पाँच महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय २५ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ७१ हजार ९ सय ७५ र १ लाख २ हजार ५ सय ४२ रुपैयाँ रहेको थियो ।
