
बालकुमारी घटनाका दोषी जो कोहीलाई कारबाही हुने
ललितपुर बालकुमारी घटनामा दोषी देखिएमा जोकोहीलाई कारबाही हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको हो ।
बैठकले घटनाबारे निष्पक्ष र वस्तुगत छानबिन गर्न जाँचबुझ आयोग गठन गर्दै कार्यादेश तोकेको छ । आयोगले उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवम् निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जो कोहीलाई कारबाहीका लागि सिफारिस गर्नेछ ।
यसैगरी, आयोगले घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने, घटनाका कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमिकमजोरी पत्ता लगाउनेछ ।
त्यस्तै, आयोगले आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १ (एक) महिनाभित्र सरकारसमक्ष पेश गर्नेछ ।
