
माओवादीको चार महिने विशेष रूपान्तरण अभियान समापन हुँदै
नेकपा (माओवादी केन्द्र)ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा अभियान सञ्चालन गरेको हो ।
यसअघि मंसिरको १६ गते समापन गर्ने भनिए पनि माओवादीले अभियान एक महिना थप गरेको हो । पालिकास्तरमा जनपरिचालन गरी अभियान समापन हुने केन्द्रीय उपमहासचिव एवं सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले बताएका छन् । बागमती प्रदेशको हकमा तीन प्रदेशको समन्वयमा अभियान सञ्चालन गर्ने तयारी भएको पोखरेलले जानकारी गराएका छन्।
यस्तै अभियान समापन भएपछि २२ र २३ गते समग्र समीक्षा गर्ने सम्पर्क समन्वयका इन्चार्ज पोखरेलले जानकारी दिएका छन् । औपचारिक रूपले अभियान समापन भए पनि मूल लक्ष्य प्राप्त नभएसम्म जारी रहने पोखरेलको भनाइ छ । यसअघि अभियान उद्घाटन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल प्रविधिमार्फत सबै पालिकामा एकसाथ गरेका थिए । पालिका, जिल्ला र प्रदेशमा आ–आफ्नै अनुकूलतामा समीक्षा गर्ने कार्य सूची रहेको पोखरेलले जानकारी दिएका छन्।
