माओवादी केन्द्रकाे सुदुरपश्चिम सचिवालयमा काे काे ताेकिए ?
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी ताेकिएकाे जनाउनुभएकाे हाे ।
सुदूरपश्चिम प्रदेशमा लामो समय देखी सचिवालय गठन हुन सकेको थिएन । प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको ‘प्रचण्ड’ र महासचिव गुरुङले जारी गरेको सर्कुलरमा उल्लेख गरिएको छ ।
ताेकिएका सचिवालय सदस्यमा केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डिलाराम आचार्य, स्थायी कमिटी सदस्य खगराज भट्ट, केन्द्रीय सदस्यहरू हरि ज्ञवाली, हेमराज भट्टराई, नेप बहादुर चौधरी, विरमान चौधरी, लक्ष्मणदत्त जोशी, बिना मगर, त्रिलोचन भट्ट, शरदसिंह भण्डारी रहेका छन् । साथै प्रदेश अध्यक्ष पदेन सदस्य हुने व्यवस्था गरिएको छ ।