समाजवादी मोर्चाः शान्ति प्रक्रियाविरोधी गतिविधि र विदेशी षड्यन्त्रबारे चर्चा

मूलखबर संवाददाता
काठमाडौं

समाजवादी मोर्चाले संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई यथावत राख्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाललाई संयोजकमा यथावत राख्ने निर्णय गरेको हो।

गत असार २३ मा नेपाल छ महिनाका लागि मोर्चाको संयोजक चुनिएका थिए।

नेकपा माओवादी‚ नेकपा एकीकृत समाजवादी‚ जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाउँदा ६/६ महिना नेतृत्व गर्ने निर्णय गरेका थिए। तर बुधबारको बैठकले नेपाललाई नै संयोजक बनाएको हो।

यस्तै ४७ जिल्लामा मोर्चा गठन भइसकेकाले बाँकी जिल्लामा पनि मोर्चा गठन गर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिए।

बैठकले समाज रूपान्तरणका लागि देशव्यापी छलफल चलाउने निर्णय पनि गरेको छ। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धको मुद्दाबारे भएका राजनीतिका सहमतिहरू न्यायालयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।

राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो ।

पछिल्लो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ । उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ । केही दिनअघि विप्लवका विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो ।

चरणचरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ । बैठकले माघको पहिलो हप्तामा अन्तक्र्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्भव भएका जिल्लामा सन्देशसभासमेत गर्ने र मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल छन् ।

देशी- विदेशी षड्यन्त्रको चर्चा
अध्यक्ष माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशमा बुनिरहेको षड्यन्त्रको तानाबानाबारे छलफल भएको जानकारी दिए ।

बुधबारबाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकमा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशमा षड्यन्त्रको तानाबाना बुनिरहेको र यसबारे छलफल भएको बताएका हुन् ।

मोर्चा संयोजक रहेका उनले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण हुने कार्य भएकाले पुनः दलहरु एक भएर गम्भीर रुपले अघि बढ्नुपर्ने बताए ।

संविधान रक्षाका लागि एमालेभित्र गरेको विद्रोहले विघटित गरिएको प्रतिनिधिसभा पुनःस्थापित गरेको स्मरण गराउँदै उनले अहिले फेरि संविधानमाथि आक्रमण भइरहेकाले गम्भीर हुुनुपर्ने स्थिति पुगेको बताए ।

‘अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाइरहेका छन् । विभिन्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले देशभित्र षड्यन्त्रका तानावाना बुुनिरहेका छन्,’ उनले भने, ‘बुधबार बिहान मात्रै समाजवादी मोर्चाको बैठक बस्यो । त्यो बैठकमा गम्भीर छलफल चलिरहेको छ । छलफल सुरु भएको छ, समाप्त भएको छैन ।’

समाजवादी मोर्चाको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोलेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो धारणा राखेका थिए।

त्यसपछि नेकपाका महासचिव विप्लव र नेता विश्वकर्माले बोलेका थिए।

विप्लव समूहका नेता खड्कप्रसाद विश्वकर्माका अनुसार मोर्चा, सरकार र विगतका उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकोबारे साझा धारणा थियो।

त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको छ भन्ने हाम्रो साझा ठहर छ,” बैठकमा नेताहरूको धारणाबारे उनले सुनाए।

उनका अनुसार प्रधानमन्त्रीले “परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र” भइरहेको सुनाएका छन्।

“कतिपय ठाउँमा जातीय नाममा, कतिपय ठाउँमा धार्मिक नाममा, कतिपय जनयुद्धका मुद्दा उठाएर अनि कतिपय हाम्रो तीनबुँदे सहमतिविरुद्ध अदालतबाट घटना गराएर व्यक्त भएका छन् भन्ने त प्रधानमन्त्रीले पनि भन्नुभयो,” नेता विश्वकर्माले बताए।