सहकारी घोटाला प्रकरणमा किन आइरहेको छ रविको नाम, यसरी जोडिएका थिए उनी

मूलखबर संवाददाता
काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यतिबेला एउटा सहकारीको घोटाला प्रकरणमा मुछिएका छन्।

पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड ऋण लिएको खुलासा भएपछि उनले कतिपय सञ्चार माध्यममा सहकारीबाट ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताउँदै पानीमाथि चोखो हुने प्रयास समेत गरेका छन्।

रवि लामिछानेकै नेतृत्वमा खोलिएको ग्यालेक्सी फोर के टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क प्रालिले पोखराको सूर्यदर्शन सहकारीबाट कानुनविपरीत दस करोड रूपैयाँ ऋण लिएको हो।

पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनले ऋण, एड्भान्स (पेश्की) लगायत विभिन्न शीर्षकमा गोरखा मिडियाले सूर्यदर्शन सहकारीबाट दस करोड रूपैयाँ लगेको उल्लेख गरेको छ।

सूर्यदर्शन ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोरखा मिडियाका सञ्चालक जिबी (गितेन्द्र राई) कै नेतृत्वमा खुलेको सहकारी हो। उनीविरूद्ध बचतकर्ताले उजुरी दिएपछि अहिले फरार छन्। उनको नाममा प्रहरील पक्राउ पुर्जी जारी गरेको छ।

सहकारीबाट गोरखा मिडियाले कानुन मिचेर ऋण लिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एमडी थिए। उक्त मिडियामा उनी सेयरधनी समेत थिए।

“रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको,” प्रतिवेदनमा जनाइएको छ । सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिन भएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले छानबिन अघि बढाएको थियो ।

प्रहरी कार्यालयले २०८० साउन ३० गते अनुसन्धानमा सहयोग गरिदिन भन्दै पोखरा महानगरपालिकालाई अनुरोधसहितको पत्र पठाएको थियो । पत्रको चलानी नं. १७४० रहेको छ ।

त्यसपछि पोखरा महानगरपालिकाले रकम हिनामिना सम्वन्धमा अनुसन्धानसम्बन्धी कार्यमा सहयोग पु¥याउन र प्राप्त विवरण बमोजिम प्रतिवेदन गर्न एफ.सी.ए. अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई खटाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अपचलन मुद्दा अघि बढाउन पोखरा महानगरपालिकासँग अनुसन्धान प्रतिवेदन मागेको थियो ।

“पोखरा महानगरपालिका सहकारी शाखाको २०८० भदौ १० को पत्र अनुसार ए. लामिछाने एण्ड एसोसिएट्सका प्रोपाइटर सि. ए. अनिल लामिछाने र सहकारी विज्ञ दिपकप्रकाश आचार्यलाई नियुक्त गरिएकोले प्राप्त प्रमाणअनुसार प्रतिवेदन पेश गरिएको छ,” प्रतिवेदनमा भनिएको छ ।

अनिल लामिछाने र दिपकप्रकाश आचार्यले २०८० असोज १० गते सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको वित्तीय स्थितिका विषयमा विश्लेषणात्मक प्रतिवेदन बुझाएका थिए ।

उनीहरुले प्रतिवेदन तयार पार्दा आर्थिक वर्ष २०७८/२०७९ को संस्थाको प्राप्त लेखा परिक्षण गरिएको वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०७९/२०८० र २०८०/८१ को कारोवारको विवरण, संस्थाको प्राप्त लेखा प्रणालीसँग सम्बन्धित संस्थामा भएका कागजातहरु, पोखरा महानगरपालिका सहकारी शाखासँग भएका संस्थासँग सम्बन्धित कागजातहरु र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्राप्त गरेका र उपलब्ध गराएका कागजातहरुको अध्ययन/अनुसन्धान गरेका थिए ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०८०/८१ को भदौ २१ गतेसम्म सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको कारोवार भएको देखिएको थियो ।

प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु हाल सम्पर्कमा नभएकाले स्थलगत निरीक्षणबाट प्राप्त प्रमाणहरु र अन्य उपलब्ध कागजातको सहयोगबाट अनुसन्धान गर्नपर्ने अवस्था भएकाले अनुसन्धानको निष्कर्ष शतप्रतिशत नहुन पनि सक्ने जनाइएको छ ।

“सहकारी संस्थाका मुख्य जिम्मेवार सञ्चालक तथा कर्मचारीहरु सम्पर्कमा आइ प्रमाणसहित खुलासा गर्दा कारोबारको यथार्थ विवरण पत्ता लाग्ने हुन सक्छ । मिति २०७६ मंसिर ३० गतेभन्दा अघिको कारोबारहरु प्रविष्ट गरिएको लेखा प्रणाली प्राप्त नभएकाले हामीले प्राप्त गरेका कागजात तथा विवरणहरु पूर्ण नहुन पनि सक्छन्,” प्रतिवेदनमा भनिएको छ ।

सहकारी ऐन २०४८ को दफा १२ को उपदफा(१) ले अधिकार प्रयोग गरी २०६५ असार १ गते बसेको पहिलो प्रारम्भिक भेलाले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था स्थापना गर्न समिति गठन गरेको थियो । त्यसपछि संस्थाले विभिन्न व्यक्तिहरुलाई ऋण उपलब्ध गराउँदै आएको छ ।

संस्थाको २०८० भदौ २१ सम्म प्रयोग गरेको कम्प्युटर लेखा प्रणालीको वासलात अनुसार संस्थाको कर्जा सापटी १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार ९०८ रुपैयाँ १८ पैसा देखिन्छ । तर कम्प्युटर लेखा प्रणालीकै कर्जा सूची अनुसार सदस्यहरुलाई प्रदान गरिएको कर्जा १ अर्ब ३१ करोड ५६ लाख ३७ हजार ४४५ रुपैयाँ ४९ पैसा देखिन्छ ।

“दुवैतर्फको विवरण अनुसार २ लाख ५४ हजार ५३७ रुपैयाँ ३१ पैसा फरक पर्न गएको छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रा.लि.ले दुई पटक पुलेसो कर्जा लिएको उल्लेख छ । गोरखा मिडियाले बिना धितो कर्जा लिएको छ । उक्त मिडियो पहिलो पटक अकाउन्ट नम्बर ११६–०००४३६४ मा १ करोड रुपैयाँ लिएको छ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.ले दोस्रो पटक एकाउन्ट नम्बर ११६– ०००४८०१ मा १ करोड ३० लाख ८९ हजार रुपैयाँ कर्जा लिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्रतिवेदनमा रवि लामिछानेको नाममा पुलेसो कर्जा नं. ११६–४४५६ खडा गरि खाता नं. ४९–००७७० मार्फत पेश्की फर्छ्यौट गरिएको उल्लेख छ । उक्त पेश्की फछ्यौट खाता नं. १०३९–०००६६७५७ बाट गोरखा मिडिया नेटवर्क प्रा.लि. ले गरेको छ ।

“पेस्की फछ्यौट गर्न कृतिम खाता प्रयोग गरी रकमान्तरण गरेको पाइन्छ । यस कारोबारमा संस्थाका पूर्व अध्यक्ष गिजेन्द्र बाबु राईको नामबाट देहाय बमोजिमको कारोबार भएको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सदस्य, गैरसदस्य, कृतिम सदस्यहरुका कुल १८ हजार ७०० वटा बचत खाता सञ्चालनमा रहेको जनाइएको छ । “कुल बचत खातामा जम्मा बचत १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८८९ रुपैयाँ २ पैसा रहेको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ ।