आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्ड, नयाँ सन्देश दिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो ।
प्रधानमन्त्री स्वयंले विभिन्न कारणले अपेक्षित काम गर्न नसकेको भन्दै बाँकी एक वर्षमा गति बढाउने बताएका छन् ।
प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। त्यतिखेर उनलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुख्य दल नेकपा एमाले अहिले प्रतिपक्षमा छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाहालको साथ छोडिसकेका छन्।
सम्बोधनका क्रममा प्रचण्डले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा जानकारी दिने बताइएको छ । प्रचण्ड गत वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।