
गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज गर्नुपर्छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताउनु भएको छ ।
‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भट्टराईको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताउनु भयो ।
‘उहाँको विषयमा खोजीनिती हुनुपर्छ । किताब राम्रोसँग लेख्नुपर्छ । हामी पार्टीबाट यसमा लाग्ने छौँ,’ उहाँले भन्नुभयो।
यस्तै भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने देउवाको भनाइ छ। भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताउनु भयो ।
देउवाले गणतन्त्र कमजोर पार्ने कुरा भइरहेको भन्दै निस्तेज पार्नुपर्ने बताउनु भयो । ‘अहिले गणतन्त्रलाई कमजोर पार्ने कुरा आइरहेको छ । त्यसलाई निस्तेज गरेर जानु पर्छ । यो व्यवस्थाका लागि भट्टराईको पनि योगदान छ’ उहाँले भननु भयो।
