
माधव नेपालको निष्कर्ष, नेकपा एस र माओवादीसँग मिलेर देश बनाउने
नेकपा एकीकृत समाजवादीले मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको भन्दै राजनीतिक रूपमा माओवादी केन्द्रसँग सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ । अध्यक्ष माधव नेपालले अपानी जारी गर्दै लोकतान्त्रिक स्थीरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने विश्वासिलो आधार अहिलेसम्म पनि पुनस्र्थापित हुन नसकेको भन्दै त्यसका लागि माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।
माधव नेपालले सचिवालय बैठकपछि जारी गरेको अपानिमा भनिएको छ, ‘अहिले उठेका कैयौँ प्रश्नमा पनि नेपाली काङ्ग्रेसले आफ्ना नीतिहरु स्पष्ट पारिसकेको छैन । नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद विघटनपछि त्यसको नेतृत्वमा झन् बढि वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्याहरुमा जेलिँदै गएका छन्र समग्र पार्टी दक्षिणपन्थी व्यक्तिपूजाको शिकार हुँदै गएको छ । कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले अहिलेको राजनीतिमा हस्तक्षेप गर्ने गरी एक्लै पहलकदमी लिन सक्दैन । यस परिस्थितिमा वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति हाम्रोपार्टी नेकपा एकिकृत समाजवादी नै हो ।’
अपानिमा भनेका छन्, ‘बरु राष्ट्रिय राजनीतिले एकपछि अर्को झन्झन्बढि प्रतिकूलताको सामना गर्दैछ । आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएका छन्। भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको छ । यहि मौकामा दक्षिणपन्थी–पुनरुत्थानवादी शक्तिहरुले संविधान, राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरुमाथि औँला उठाउन थालेका छन् ।’
राजनीतिलाई विचारहीन– सिद्धान्तहीन सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख छ ।
‘मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको छ र राष्ट्रिय हितका विरुद्ध अनेक षडयन्त्रहरु हुँदै गरेका आशङ्काहरु बढ्न थालेका छन्। आज मुलुकमा बढ्दै गरेको सङ्कटले राजनीतिमा एउटा प्रभावकारी क्रान्तिकारी हस्तक्षेपको माग गरेको छ । स्पष्ट समाजवादी कार्यदिशा भएको एउटा बलियो लोकतान्त्रिक पार्टीले मात्रै त्यस्तो हस्तक्षेप गर्न सक्छ र आजका सङ्कट समाधानको दिशा देखाउन सक्छ’, अपानिमा उल्लेख छ ।
नेपाली काङ्ग्रेस एउटा उदारवादी राजनीतिक शक्ति भएको हुँदा आजको सङ्कटलाई सामना गर्ने वैचारिक सामथ्र्य उसँग अपेक्षा गर्न नसकिने निष्कर्ष छ ।
अपानिमा भनिएको छ, ’अहिलेको चुनौतिको सामना गर्न सक्ने गरी हाम्रो पार्टी सङ्गठनात्मकरुपमा बलियो भैसकेको छैन । विद्रोहबाट जन्मेको र त्यसपछि एकपछि अर्को निर्वाचनमा जानु पर्दा पार्टीलाई सङ्गठनात्मकरुपमा विस्तार गर्न आवश्यक समय हामीले पाएनौँ । यदि सहि राजनीतिक कार्यदिशा भएन भने सङ्गठनात्मकरुपले शक्तिशाली पार्टी प्रतिगमनको झन्प्रभावशाली हतियार हुँदो रहेछ भन्ने कुरा हामी आफैँले भोगेर आएका छौँ ।’
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनकै दलसँग पनि शंका गरेका छन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा पनि आजको संकट टार्न सक्ने शक्ति नरहेको उनले अपानिमा लेखेका छन्।
‘अहिले उठेका प्रश्नमा पनि काङ्ग्रेसले आफ्ना नीति स्पष्ट पारेको छैन। नेकपा एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद् विघटनपछि त्यसको नेतृत्वमा वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्या देखिएको छ। एमाले दक्षिणपन्थी व्यक्तिपूजातर्फ बढेको छ। नेकपा माओवादी केन्द्रले पनि वैचारिक र सैद्धान्तिक कारणले हस्तक्षेपकारी भूमिका खेल्न सक्दैन’, उनले भनेका छन्, ‘तर अहिलेको अवस्थामा वैचारिक तथा सैद्धान्तिक कार्यदिशामा अहिलेको संकटको वस्तुगत विश्लेषणसहित समाधान दिने राजनीतिक शक्ति नेकपा एकीकृत समाजवादी हो।’
