मन्त्री किरातीको स्पष्टोक्ति : सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ
संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले दिनुभएको अभिव्यक्तिमा विवाद आएपछि उहाँले विवादित विषय नभएको भन्दै स्पष्ट पार्नु भएको छ । उहाँले बहसको लागि सबैलाई धन्यवाद भन्दै स्पष्टीकरण दिनु भएको छ । सामाजिक सञ्जालमा उहाँले स्टाटस लेख्दै संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको बताउनु भयो ।
‘भन्नलाई त मलाई, पशुपतिनाथ सफा गर्दा हिन्दु भने,बौद्ध दर्शनको वकालत गर्दा बुद्धिष्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिष्टियनको कार्यक्रममा जाँदा क्रिष्टियन भने’, उहाँले लेख्दै, ‘फेरि पनि भन्छु अहिले म सबैको अभिभावक हुँ । त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।”