
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनमा, मस्यौदा समिति संयाेजकमा भुषाल
सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले अन्ततः फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको माओवादीले जनाएको हो ।
यसअघि पुसमा विधान सम्मेलन गर्ने र केन्द्रीय समितिलाई दुई अंकमा सिमित गर्ने उद्घाेष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियाे ।
बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । महासचिव देव गुरूङका अनुसार उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहनुभएकाे छन् ।
बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको महासचिवले जानकारी दिनुभयाे ।
माओवादी केन्द्रकाे गत साउनमा सम्पन्न केन्द्रीय समितिकाे पर्ण बैठकले पुसमा विधान सम्मेलन गर्ने तालिकासहित विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियाे ।
