माओवादी पदाधिकारी बैठक, मन्त्रीहरूमाथि पर्फर्मेन्स लगाम लगाउने प्रचण्डको तयारी

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ।

पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी गरिएको थियो। बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए । अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।

मन्त्रिहरूलाई लगाम लगाउने प्रचण्डको तयारी
प्रचण्डले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर सरकारी निकायले काम गर्नुपर्ने बताए । “दुई मन्त्रालयको मन्त्रालयगत अवस्था, त्यसको समग्र स्थितिबारे जानकारी लिइयो, यो आफैँमा महत्वपूर्ण छ, मैले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा हँुदैछ । कार्य तालिका नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचमा छु”, प्रधानमन्त्री प्रचण्डले भने, “एक वर्षमा हामीले कति काम ग¥र्यौं, कहाँ के कति समस्या रहे, त्यसको गम्भीर अध्ययन गरेर भावी योजना बनाउँछु ।”

प्रधानमन्त्री प्रचण्डले अब नियमितरूपमा छलफल, समीक्षा र मूल्याङ्कन सुरु गरिने बताउँदै भने, “जनतालाई परिणाम दिने मुख्य विषय हो, जति राम्रो परिणाम दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ, हामीले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

उनले आफू १० बजे नै कार्यालय आउने गरेको र नियमित रूपमा छलफल, समीक्षा र मूल्यांकन हुने बताए। उनले भने, ‘जनतालाई डेलिभरि दिने कुरा मुख्य हो। जति राम्रो डेलिभरि दिन सकियो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जान्छ। हामीले जनतालाई केन्द्रमा राखेर सोच्नुपर्छ, सोचिन्छ।’

देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य संयन्त्र कृषि र भूमि भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न नसकिए समृद्धि हासिल गर्न नसकिने बताए । उनले भने, “जलविद्युत् र उद्योग पनि महत्वपूर्ण छन् । उद्योग पनि कृषिमा आधारित छन् । कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”