सुरक्षण मुद्रणसम्बन्धी गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धि भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिने बताउनुभएको छ । देशभित्र नै सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय काम गर्नका लागि एक विशिष्टीकृत निकायको स्थापना गरिने उहाँले उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन सुरक्षण मुद्रणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिनुहुँदै मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसका लागि कानुन बनेपछि बेग्लै संयन्त्र खडा हुने जानकारी दिनुभयो । उक्त केन्द्र स्थापना भए स्वदेशमै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता महत्वपूर्ण सामग्रीको मुद्रण भई राष्ट्रिय पुँजी विदेशिनबाट जोगिने उहाँको भनाइ थियो ।
राष्ट्रियसभाबाट पारित भई आएको उक्त विधेयकमा सुरक्षण मुद्रणसम्बन्धी कार्यको प्राधिकार रहने गरी केन्द्र स्थापनाको प्रस्ताव गरिएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुएका मन्त्री शर्माले उक्त विधेयक २०७७ सालमा सदनमा प्रस्तुत भएको र चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा सुरक्षण मुद्रणका काम र मुद्रण विभागका काम एकै निकायबाट गर्ने व्यवस्था भएकाले कतिपय सन्दर्भमा फेरबदल आएको उल्लेख गर्दै मन्त्रालयले सुरक्षण मुद्रणलाई बेग्लै केन्द्र बनाएर मुद्रण विभागलाई पनि यथावत् राख्ने गरी राय दिएको अवगत गराउनुभयो ।