उदयपुर सिमेन्ट उद्योग पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ : मन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
मन्त्री डा. महतले कारखाना निरीक्षण गर्दै सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गर्नुभयो । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा. महतको भनाइ थियो । “व्यवस्थापनमा ध्यान दिनुप¥यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीबोध गर्नुप¥यो । कसैले पनि जिम्मेवारीबोध नगर्दा यो अवस्था सिर्जना भएको हो । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएको उल्लेख गर्दै मन्त्री डा. महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजीक्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।”
उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा रु. ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु. एक अर्बको सावाँब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा रु. ७५ करोडको दायित्व रहेको मन्त्री डा. महतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले व्यवस्थापक नियुक्ति ग¥यो, त्यहाँ पनि कमजोरी छ । व्यावसायिकतालाई हामीले महत्त्व दिएनौँ । व्यवस्थापनको नेतृत्व पनि कमजोर भयो, श्रमिकले आफ्नो जिम्मेवारी पूरा गरेनन्, सुविधा मात्र माग गर्नमा जोड दिए । त्यही कारणले उद्योगको अहिलेको अवस्था आएको हो ।”
काममा व्यावसायिकता देखिनुपर्ने भन्दै मन्त्री डा. महतले भन्नुभयो, “प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबरजस्ती बचाउन सकिँदैन । यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनुपर्छ । अनि मात्र सरकारले हेर्छ ।”