माओवादी नेताहरूको एक स्वर- नेताको गल्ती देखाएर व्यवस्थामाथि प्रहार अस्वीकार्य

मूलखबर संवाददाता
काठमाडौं, ४ पुस

माओवादीका नेताहरूले नेताहरूका गल्ती र कतिपय मान्छेका कमजोरीलाई देखाएर व्यवस्था विरोधी भाष्य बनाउने कुरा अस्वीकार्य रहेको बताएका छन्। पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उपमहासचिव वर्षमान पुनले एउटै भावमा मान्छेका गल्ती हुनसक्ने तर व्यवस्थामाथि औला उठाउने बेला नभएको बताएका हुन्।

एनसेल खरिदबिक्री प्रकरणबारे जानकारी दिन मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका बेला प्रधानमन्त्री प्रचण्डले देशको माया नलाग्ने गरी भाष्य तयार गरिएको गुनासो गरे।

‘शिक्षा नीति सदनमा छ, छलफल गरौँ । शिक्षा नीतिमा सोचौँ । पहिलापहिला बरु नैतिक शिक्षा भन्ने हुन्थ्यो । नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो । त्यो हटाइयो । त्यहाँ देशको माया । इतिहासको माया । संस्कृतिको माया । देशको विकास गर्ने राष्ट्रिय भावनाका कुरा हुन्थे । अहिले छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले नेपाल बनेन बन्ने भाष्य निर्माण गरिएकोप्रति पनि निकै असन्तुष्टि जनाए। नेपालमा रोजगारी नहुनु मात्रै युवा बिदेसिनुको कारण नभएको उनले बताए।

‘अहिले नेपालमा केही छैन, भ्रष्टाचार मात्रै छ, यहाँ बस्नु हुँदैन भन्ने भाष्य सिर्जना गरिएकोप्रति मेरो असहमति छ,’ उनले भने, ‘यहाँ रोजगारी नभएर मात्रै विदेश गएका होइनन् आफ्नो घरको खाएर मासिक ८० हजार तलब बुझ्ने शिक्षक ८० लाख रूपैयाँ खर्च गरेर बिदेसिएको छ।’

त्यस्तै आफूले गरेको कामलाई बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि जनाए। आफू सुशासन, समृद्धि र सामाजिक न्यायका लागि अन्तिम संघर्षमा रहँदा सांसद तथा सरोकारवालाको साथ खोजेको तर नपाएको उनको गुनासो थियो।

‘म सुशासन, समृद्धि र सामाजिक न्यायको सम्बन्धमा अन्तिम लडाइँमा छु। यसमा मैले त माननीयहरूको साथ खोजेको छु,’ प्रचण्डले भने, ‘यसरी लागेको प्रधानमन्त्रीलाई पनि काण्डै काण्ड गर्‍यो, काम केही गरेन भन्ने सुनिन्छ।’

उनले अहिले आइरहेका विभिन्न काण्डहरूबारे चर्चा गरे। त्यही प्रसंगमा सय किलाे सुन प्रकरण आफ्नै कारणले पत्ता लागेको समेत बताए।

‘म आफैंले ठूलो मात्रामा सुन तस्करी हुँदैछ भन्ने थाहा पाएपछि मेरै मातहतका निकाय अन्तर्गतको निकायलाई हेर्न लगाएँ। अहिले पनि सुन आएको आयै छ। तर हामी गम्भीर भएर लागेका छौं,’ उनले भने।

व्यवस्थाविरूद्ध सामाजिक सञ्जालमा उचालिएका कुरालाई बल पुग्ने गरी सांसदहरू बोल्नुले व्यवस्था विरोधी प्रवृत्तिलाई सहयोग पुग्ने उनको भनाइ छ।

नेपालमा केही छैन भन्ने भाष्य निर्माण गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाए । ‘नेपाल खत्तम छ । नेपाल सिध्दिसक्यो । भ्रष्टाचारबाहेक केही पनि छैन । रोजगारी छैन । यो देशमा बस्नु बेकार भन्दै विदेश जाने प्रक्रिया चलेको छ । म त्यससँग असहमत छु । नेपाल सुन्दर छ । प्रशस्त साधन स्रोत छ । उर्वर जमिन छ । हिमाल छ । पानी छ । गर्न सक्यो भने यहाँ धेरै चीज छ । केही पनि छैन सिध्दिसक्यो भन्ने भाष्य गलत छ,’ उनले भने।

वर्षमानको पनि उस्तै बोली
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पनि नेताहरुका कतिपय सीमा र कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताएका छन्।

पार्टीको बागमती प्रदेश समिति बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेताका कमजोरी औंल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको बताए। ‘नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन’, पुनले भने।

पुनले गणतन्त्र, संघीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका पाँच पिलर भएको र एउटा कमोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गरे। उनले परिवर्तनविरोधीले परिवर्तनका पिलरहरुमध्ये केही भत्काउन खोज्दा भ्रमबस नागरिकले समर्थन जनाए बाँकी पनि संकटमा पर्नेबारे समयमै सचेत हुनुपर्ने बताए।

‘हजारौंको बलिदानबाट स्थापित परिवर्तनका आधार स्तम्भमध्ये एउटामा प्रहार हुँदा अर्को पनि कमजोर हुन्छ’, पुनले भने, ‘संघीयता, धर्मनिरपेक्षता र समावेशीताको विरोधमा उठेका आवाजमा जनताले समर्थन गरे त्यो गणतन्त्रविरुद्धकै समर्थन हुन्छ भन्ने बुझ्नुपर्छ।’

यद्यपि व्यवस्था सञ्चालनका क्रममा विकृति र विसंगति देखिएको स्वीकार गर्दै पुनले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिए। ‘कमजोरीहरु र सीमाहरु अवश्य रहन गएका छन्’, उनले भने, ‘तर यसको अर्थ गणतन्त्र र लोकतन्त्रको विकल्प वंशपरम्परामा आधारित निरंकुशतन्त्र हुन सक्दैन, यो हामीलाई किमार्थ स्वीकार्य छैन।’

उनले लामो समय व्यवस्थाले अन्यायमा पारेका महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रका जनतालाई मुलप्रवाहमा ल्याउन गरिएको समावेशीता र समानुपातिकताको व्यवस्था निरंकुशता पक्षधरलाई मन नपरेको टिप्पणी गरे। यस्तै राज्यको धर्म नहुने भन्दै पुनले मर्ध मानिसको निजी आस्थाको विषय भएको स्पष्ट गरे। संविधानले नै परम्परादेखि चल्दै आएका सनातन धर्म र संस्कृतिको संरक्षण गर्ने ग्यारेन्टी गरेको चर्चा गर्दै पुनले राज्यले कुनै धर्म वा सम्प्रदायलाई विशेष महत्व नदिने तथा धर्मकै आधारमा कसैमाथि विभेद नगरिने व्यवस्था नै धर्मनिरपेक्षता भएको ख्याख्या गरे।

धर्मका नाममा साम्प्रदायिकता भड्काउने प्रयासप्रति नागरिक सचेत हुनुपर्ने उनको भनाइ थियो। ‘राज्य समावेशी र लोककल्याणकारी हुनुपर्ने भन्ने मान्यताअन्तर्गत संविधानमा भएका प्रभावनमाथि निरंकुशतावादीहरुले प्रहार गरिरहेका छन्’, पुनले भने, ‘राज्यको मुलप्रवाहबाहिर रहेकाहरुलाई मुलप्रवाहमा ल्याउने, राज्यलाई लोककल्याणकारी बनाउने मान्यताविरुद्धका प्रहार सह्य हुन सक्दैन।’

फरक प्रसंगमा उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी, कालोबजारी, दलालीकरण तथा सामन्ती अवशेषका रुपमा रहेको मिटरब्याजी समस्या समाधान गरेका कारण त्यस्ता धन्दाहरुबाट लाभ लिइरहेकाहरु आतंकित भएर सरकार र व्यवस्थाको विरोधमा उत्रिएको आरोप लगाए। उनले आफ्नै दलका नेताहरु पनि त्यस्ता गतिविधिमा संलग्न भए सरकारले नछाड्ने उल्लेख गरे।

‘हाम्रा नेताहरुमाथि पनि विभिन्न आरोप लाग्ने गरेका छन्। कसैको तागत छ भने अख्तियार, सम्पत्ति शुद्धीकरणसहित छानबिन गर्ने राज्यको नियकायमा सप्रमाण उजुरी दिए हुन्छ’, पुनले भने, ‘हामी अरु पार्टीहरुले जसरी आफ्ना मान्छेले गल्ती गर्दा पार्टी र राज्य शक्तिको दुरुपयोग गरेर चोख्याउन लाग्दैनौं। जसले गल्ती गर्छ त्यसको प्रतीरक्षा उसैले गर्नुपर्छ।’