गठबन्धनविरोधी गगनलाई शेरबहादुरको काउन्टर- एक्लै बहुमत आउँदैन के गर्ने !

मूलखबर संवाददाता
काठमाडौं

दुई दिनअघि मात्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अघि कुनै पनि दलले अर्को दलसँग गठबन्धन गर्न नहुने कानुनी व्यवस्था गर्नुपर्ने बताएका थिए।

पर्वतमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका केही नेताहरुले पनि यो विषय उठाएको बताउँदै उनले त्यो भयो कोही कसैसँग डराउनुनपर्ने जिकिर पनि गरेका थिए। निर्वाचनअघिको गठबन्धन गर्ने व्यवस्थाको ढोका सधैंका लागि बन्द गर्नुपर्ने उनको प्रस्ताव थियो । तर उनकै पार्टीका सभापतिले गगनलाई काउन्टर मात्र दिएका छैनन् गठबन्धनको विकल्प नै नभएको तर्क गरेका छन्।

देउवाले संसदीय चुनावमा कुनै पनि पार्टीको स्पष्ट बहुमत आउने सम्भावना आफूले नदेखेको बताएका हुन् । मंगलबार पोखरामा कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन गर्दै उनले सोही कारण अरु पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बताए ।

अहिले कांग्रेस सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै देउवाले पार्टीले बहुमत ल्याउनका लागि सबै लाग्न जरुरी रहेको बताए । ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो देखिसकेँ । अरु पार्टीसँग मिलेर सरकार बनाउन आवश्यक छ,’ उनले भने, ‘अहिले हाम्रो पार्टी सबैभन्दा ठूलो बनेको छ । बहुमत ल्याउने बनाउन सबै लाग्न आवश्यक छ ।’

पार्टीमा आकर्षण बढेको दाबी गर्दै देउवाले सबै मिलेर बहुमत ल्याउन लाग्नुपर्ने बताए । ‘जसरी भए पनि एक गराएर, आपसमा मेलमिलाप गराएर, आपसमा एकता गराएर बहुमतको पार्टी बनाऔँ,’ उनले भने, ‘सबैभन्दा ठूलो पार्टी बनाउन अहिल्यैदेखि लागौँ । प्रदेश सम्मेलन भएको ठाउँमा धेरै उत्साह देखेको छु । आकर्षण बढी भएको छ ।’

कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निरासा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गरे । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।