पश्चिम र बाँकी विश्वबीच सम्बन्धविच्छेदको तयारी !

मूलखबर संवाददाता
काठमाडौं

किशोर महबुबानी

विश्वलाई मोहित तुल्याएको थियो। उनीहरुको सम्मान आर्जन गरेको थियो। यो कुनै गोप्य कुरा होइन। गोप्य कुरा के हो भने पश्चिमले त्यो सम्मान अहिले गुमाइरहेको छ। गोप्य किनभने यो परिवर्तन अर्बौं मानिसको मनमा चुपचाप र अदृश्य रुपले भइरहेको छ।

पश्चिमलाई अब्बल र अलग बनाएको पश्चिमा मूल्यमान्यताले थिएन। बरु, उसको कार्यसम्पादनले थियो। अरुको भन्दा गतिलो कार्यसम्पादनका कारण तुलनात्मक रुपले पश्चिमको सानो जनसंख्यालाई बाँकी विश्वभन्दा अगाडि तान्यो, दुई सय वर्षसम्म। त्यस्तै, पश्चिमले प्रविधिमा रहेको आफ्नो श्रेष्ठतालाई विश्वका हरेक कुनाकाप्चामा सय वर्षसम्म उपनिवेश बनाउन प्रयोग ग¥यो। पत्याउन मुस्किल हुन्छ, मात्र एक सय वर्षअघि जम्माजम्मी एक लाख अंग्रेजहरुले भारतको ३० करोड जनसंख्यामाथि सहजै शासन गरेका थिए।

उपनिवेश अन्त्यपछिको युगमा पश्चिमप्रतिको असन्तोष राम्ररी स्थापित भयो। तथापि, पश्चिमको गतिलो कार्यसम्पादनप्रति ‘ग्लोबल साउथ’ को सम्मान वास्तविक र टिकाउ थियो।

खासगरी विश्वयुद्धपछिको अवधिमा धेरैजसो पश्चिमा समाज स्थिर र सुव्यवस्थित थिए। सर्वसम्मत लोकतन्त्र र दिगो आर्थिक वृद्धि, दुवैको मजा लिइरहेका थिए उनीहरु। तिनका नेता गतिला थिए। जो नेता प्रेरक थिएनन्, ती पनि समझदार थिए। जस्तो कि, अमेरिकी कूटनीतिज्ञ जर्ज केननले बुद्धिमत्तापूर्वक भविष्यवाणी गरेका थिए, अन्ततः सोभियत संघलाई पश्चिमको ‘आत्मिक जीवनशक्ति’ ले हराउनेछ।

दुर्भाग्यवश, आज केनन जीवित हुन्थे भने उनले त्यस्तो जीवनशक्ति फेला पार्न सक्दैनथे। योग्यताको स्थान अयोग्यताले लिएको छ। जुन समाज कुनै समय सुव्यवस्थित थिए, ती आज निकै समस्याग्रस्त र राजनीतिक रुपले अस्थिर बनेका छन्। ब्रेक्जिट अनि डोनाल्ड ट्रम्प र अरु पपुलिस्ट नेताहरुको उदय यसको स्पष्ट संकेत हो। थुप्रै पश्चिमा बुद्धिजीवीहरुले यसलाई देखेका छन्। तर, यो अस्थायी अनि चक्रीय चुनौती मात्र हो भनेर आफूलाई सम्झाउँछन्।

तथापि, यी समस्या चक्रीय होइनन्, संरचनात्मक हुन्। उदाहरणका लागि एउटा तथ्यांक लिउँ, जसलाई हरेक युरोपेली नेताहरुले आफ्नो स्मृतिमा टाँस्न जरुरी छ– सन् २०१० देखि २०२० सम्म विश्व अर्थतन्त्र वृद्धिमा मात्र ३ ट्रिलियन डलर जीडीपी भएको दक्षिणपूर्वी एसियाका मुलुकहरुको संगठन आसियानले १७ ट्रिलियन डलर जीडीपी भएको ईयूभन्दा ज्यादा योगदान दियो।

लामो समयदेखि राम्रो प्रदर्शन गर्न नसकेका विकासशील मुलुकहरुमाथि जस्तो खालको तीतो ओखती थोपरिँदै आएको छ, त्यही ओखती आफ्नै जनसंख्यामाथि थोपर्न अनिच्छुक हुन्जेल पश्चिमको आर्थिक अक्षमता कायम रहनेछ। यो आर्थिक अक्षमतासँग अहिले भूराजनीतिक अक्षमता पनि गाँसिन आइपुगेको छ।

युक्रेनमाथि रुसको आक्रमण अवैध थियो। त्यसै हुनाले सो आक्रमणको भर्त्सना सही थियो। तर, विश्वको ८५ प्रतिशत जनसंख्या ती मुलुकमा बस्छन्, जसले रुसमाथि नाकाबन्दी लगाएनन्। के यसले रुस एक्लिएको संकेत गर्छ त? कि त्यसको उल्टो संकेत गर्छ?

यो सत्य हो– युक्रेन मामिलामा कम्तीमा अमेरिकाले अक्षमताको सट्टा भूराजनीतिक धुर्तता देखायो। उसले अमेरिकामाथि युरोपेली निर्भरता सिर्जना गरिदियो, त्यो पनि यस्तो समयमा, जुनेबला अमेरिकीहरु चीनलाई अझ ठूलो दबाब दिन समर्थन जुटाउन चाहन्थे। यद्यपि, यो भूराजनीतिक नाफा अस्थायी हुनसक्छ।

पश्चिमको संयुक्त दबाबसामु रुस अझै पनि धराशायी हुन सक्छ। तर, त्यसको सम्भावना झनझन् घट्दै गइरहेको देखिन्छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पीडादायी सम्झौता स्विकार्नुपर्ने हुनसक्छ। र, यदि त्यसो भयो भने गैरपश्चिमा मुलुकहरुले सोध्नेछन्, ‘केका लागि यो सब गरिएको थियो?’

विशाल मात्रामा युक्रेनमा पठाइएको सहयोगले पश्चिमलाई युक्रेनको वास्तवमा वास्ता छैन भन्ने ग्लोबल साउथको विश्वासलाई पुष्टि गर्ने काम मात्र गरेको छ। ध्यान दिनुपर्ने कुरा के छ भने, रुसको आक्रमण त्यतिबेला भयो, जतिबेला कोभिड महामारीका स्मृति ताजै थिए। त्यो महामारीमा ग्लोबल साउथले पश्चिममा कोभिडविरुद्धको खोप उब्रिएको देखे, जुन उनीहरुलाई दिइएन।

सो क्षेत्रका सरकारहरुका लागि सबैभन्दा चिन्ताजनक कुरा भनेको सत्तामा ट्रम्पको फिर्तीको सम्भावना हो। यदि ट्रम्प त्यसमा सफल भए भने उनी पहिलेकोभन्दा क्रोधी र दुष्ट हुनेछन्। जसले फेरि जलवायु सम्झौता च्यात्नेछन्, राष्ट्रसंघलाई बेवास्ता गर्नेछन् र अरु मुलुकलाई द्विपक्षीय रुपमा पेल्न अमेरिकी शक्तिको प्रयोग गर्नेछन्।

समाज–विज्ञानका सबैभन्दा उत्तम उपकरण उपलब्ध भए पनि अमेरिकी संस्थापन पक्षले अहिलेसम्म थाहा पाउन सकेको छैन– ट्रम्पलाई मत दिन उक्साइरहेको अमेरिकीहरुको आक्रोशको स्रोत के हो? आफैँ नराम्ररी विभाजित समाज अब बाँकी विश्वका लागि उदाहरण रहिरहन सक्दैन।

यी सबैको तात्पर्य के हो भने दुनियाँमा केही तात्विक परिवर्तन हुँदैछ। पश्चिमबाट बाँकी विश्व एकप्रकारले आध्यात्मिक रुपमा अलग हुँदैछ।

कुनैबेला बाँकी विश्वका थुप्रै मान्छेले पश्चिमलाई आफ्ना समस्याको समाधानका रुपमा हेर्ने गर्दथे। अहिले उनीहरुले बुझेका छन्, आफ्नो बाटो उनीहरु आफैँले खोज्नुपर्नेछ। यसको अर्थ, के पश्चिम र बाँकी विश्वबीच सम्बन्धविच्छेद अवश्यंभावी छ त? त्यस्तो किमार्थ होइन। हामी अहिले पनि अन्योन्याश्रित विश्वमा बस्छौँ, जसले थुप्रै साझा चुनौतीहरु सामना गरिरहेको छ।

हामीले एकअर्कासँग संवाद गर्न जरुरी छ। तर, त्यसो गर्दा बराबरी हैसियतमा गर्नुपर्छ। हेपाइ अन्त्य हुनैपर्छ। पश्चिम र बाँकी विश्वबीच आपसी सम्मानमा आधारित संवाद गर्ने समय आइपुगेको छ।

फाइनान्सियल टाइम्सबाट साभार